फिक्कलदेखि मानेडाँडासम्म: सूर्योदयको नयाँ पर्यटकीय आकर्षण

150f16a3-5654-4cd1-8226-ffbbba6ecd12

बिर्तामोड: पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य इलामको सूर्योदय नगरपालिका प्राकृतिक सौन्दर्य, हरियाली चिया बगान र मनोरम हिमाली दृश्यका कारण देश–विदेशका पर्यटकको रोजाइ बन्दै गएको छ। विशेषगरी फिक्कल र आसपासका चियाबारीले इलामको पहिचानलाई विश्व पर्यटनको नक्सामा स्थापित गरिरहेका छन्। कन्याम, अन्तु र पशुपतिनगरसँगै अब सूर्योदयको पर्यटनमा आधुनिक पूर्वाधार पनि थपिँदैछ।
सूर्योदय नगरपालिका–८ मानेडाँडामा निर्माण भइरहेको करिब १२० मिटर लामो र जमिनबाट ६० मिटर उचाइमा रहेको अत्याधुनिक सिसाको पुल यसको पछिल्लो उदाहरण हो। करिब ७ करोड ६१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। विशेष प्रकृतिको सिसा प्रयोग गरिएको पुलबाट हिँड्दा चिरा परेको जस्तो देखिए पनि पर्यटकको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ।
विश्व पर्यटन दिवसलाई लक्षित गर्दै सञ्चालनमा ल्याउने तयारी भइरहेको यो पुलले मानेडाँडाको पर्यटन सम्भावनालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। यहाँबाट मौसम खुलेका बेला झापाका तराईका फाँटसँगै भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी र हिमाली भू–भागको दृश्यावलोकन गर्न सकिन्छ।
सिसा पुलसँगै भ्यू प्वाइन्ट, सौन्दर्यीकरण र अन्य पूर्वाधार निर्माण भएपछि फिक्कल–कन्याम–अन्तु–मानेडाँडा क्षेत्रलाई एउटै पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने सम्भावना छ। चियाबारीको हरियाली, कुहिरोले ढाकिएका डाँडा, सूर्योदय–सूर्यास्तका दृश्य र आधुनिक साहसिक पर्यटन पूर्वाधारले सूर्योदयलाई आन्तरिक मात्र होइन, विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाउने आधार तयार गरिरहेका छन्।
अब चुनौती पूर्वाधार निर्माणमा मात्र सीमित छैन,यसको दिगो व्यवस्थापन, सुरक्षा, प्रचार–प्रसार र स्थानीय समुदायको आर्थिक सहभागिता सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। यी पक्षमा ध्यान दिन सके फिक्कलदेखि मानेडाँडासम्मको पर्यटन यात्राले इलामको अर्थतन्त्रमा नयाँ ऊर्जा थप्दै स्थानीय रोजगारी र व्यवसाय विस्तारको बलियो आधार बन्न सक्छ।

About Author

Advertisement