सिलगढी: फराक्कामा पहिरोका कारण रेल सेवा प्रभावित भएपछि यात्रुको आवागमन सहज बनाउन तथा सार्वजनिक यातायात सेवा सुचारु राख्न सिलगढीस्थित तेन्जिङ नोर्गे बस टर्मिनसबाट आज साँझ ७ बजेदेखि अतिरिक्त बस सेवा सञ्चालन गरिने भएको छ।
यस विषयमा पश्चिम बंगाल सरकारका यातायातमन्त्री अर्जुन सिंहसँग विस्तृत छलफल तथा परामर्शपछि थप बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो। यस महत्वपूर्ण पहलमा सिलगढीका विधायक तथा पश्चिम बंगाल सरकारका पर्यटनमन्त्री डा. शंकर घोषको विशेष पहल र महत्वपूर्ण भूमिका रहेको जनाइएको छ।
पहिरोका कारण रेल यात्रुले भोग्नुपरेको आवागमनसम्बन्धी कठिनाइ कम गर्न तत्काल राहतस्वरूप अतिरिक्त बस सेवा सुरु गर्न लागिएको हो। पहिलो चरणमा यातायातमन्त्रीको पहलमा ४० वटा अतिरिक्त बसको व्यवस्था भइसकेको छ।
सेवा सुरु हुने अवसरमा डा. शंकर घोष आज साँझ ७ बजे सिलगढीस्थित तेन्जिङ नोर्गे बस टर्मिनसमा उपस्थित हुनेछन्।





