सिलगढी: सिलगढीको राज्य अतिथि गृहमा शनिबार एक महत्वपूर्ण प्रशासनिक बैठक सम्पन्न भयो, जसमा विभिन्न सरकारी विभागका अधिकारीहरूसँग दार्जिलिङका सांसद राजु बिष्टले छलफल गरे। उक्त बैठकमा जिल्लाका विभिन्न विधानसभा क्षेत्रका विधायक, जिल्ला अधिकारी, उपविभागीय अधिकारी तथा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए।
बैठकमा जिल्लामा जारी विभिन्न विकास कार्यहरू, सरकारी योजनाहरूको प्रगति तथा विभागहरूबीचको समन्वयबारे विस्तृत छलफल गरिएको थियो।
बैठकपछि सांसद राजु बिष्टले कडा सन्देश दिँदै जिल्लामा कुनै पनि प्रकारको अवैध गतिविधि सह्य नहुने बताए। उनले नदीबाट अवैध बालुवा उत्खनन, स्वास्थ्य सेवामा लापरबाही, नर्सिङ होमहरूमा अनियमितता तथा शिक्षा लगायत विभिन्न जनसेवा क्षेत्रमा कमजोरीका विरुद्ध कडा कारबाहीको निर्देशन दिइएको जानकारी दिए।
उनले थप चेतावनी दिँदै जिल्लामा दलालहरूको सञ्जाल, सिन्डिकेट तथा गिरोहसँग सम्बन्धित गतिविधि कुनै पनि हालतमा चल्न नदिइने बताए। सबै विभागहरूले पारदर्शिता र जिम्मेवारीका साथ काम गर्नुपर्ने तथा जनहितलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उनले जोड दिए।










