गान्तोक: राष्ट्रिय एकता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको एकता नगरस्थित सिक्किम पर्यटन विभागको प्रदर्शनी स्टलको अवलोकन गर्नुभएको छ।
समारोहको उद्घाटनका क्रममा प्रधानमन्त्री मोदीले सिक्किमको स्टलको भ्रमण गर्दै राज्यका प्रमुख पर्यटकीय गन्तव्य तथा समृद्ध सांस्कृतिक सम्पदाबारे जानकारी लिनुभयो। यस अवसरमा सिक्किमका परम्परागत हस्तकला, हातले बुनिएका कपडा तथा स्थानीय उत्पादनहरूलाई विशेष प्राथमिकताका साथ प्रदर्शन गरिएको थियो।
भ्रमणका क्रममा सहायक निर्देशक पेडेन भोटियाले प्रधानमन्त्रीको ‘भोकल फर लोकल’ अभियानको परिकल्पनाबारे प्रकाश पार्दै स्थानीय उत्पादनको प्रवर्द्धन, परम्परागत सीपको संरक्षण तथा स्थानीय कारीगरहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने राज्य सरकारको प्रतिबद्धताबारे जानकारी गराउनुभयो। साथै उहाँले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा सिक्किमको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन राज्य सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो।
यस राष्ट्रियस्तरको समारोहमा सिक्किम पर्यटन विभागको सहभागिताले राज्यको विशिष्ट पहिचान, सांस्कृतिक सम्पदा र पर्यटन सम्भावनालाई देशभरका आगन्तुकमाझ परिचित गराउने अवसर प्रदान गरेको छ। साथै, यसले दिगो पर्यटन, सांस्कृतिक संरक्षण तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धनप्रति सिक्किम सरकारको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गरेको छ।
नोभेम्बर १ देखि १५ सम्म सञ्चालन हुने उक्त समारोहले देशका विभिन्न भागबाट आउने आगन्तुकहरूलाई सिक्किमको सांस्कृतिक विविधता र पर्यटकीय आकर्षणबारे जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस सहभागितामार्फत सिक्किमले ‘एक भारत, श्रेष्ठ भारत’ को भावनालाई आत्मसात् गर्दै विविधतामा एकताको सन्देश प्रवाह गरेको छ। साथै, आफ्नो स्थानीय सम्पदा, हस्तकला र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।





