गान्तोकः पूर्व विधायक परिसंघले आफ्नो २१औं स्थापना दिवस सफलतापूर्वक आयोजनापछि आज समीक्षात्मक सभा सम्पन्न गऱ्यो। आजको समीक्षात्मक सभाको अध्यक्षता पूर्व विधायक परिसंघका अध्यक्ष डीबी ठटालले गरेका थिए।
आजको सभामा पूर्व मन्त्री एवं स्थापना दिवस आयोजन कार्यक्रममा अध्यक्ष जीएम गुरूङले उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुऱ्याउने सबै सहयोगी हातहरूप्रति आभार व्यक्त गरे। वर्तमान मख्यमन्त्री प्रेमसिंह तामाङको सक्रियतामा उक्त कार्यक्रम वृहत रुपमा सम्पन्न हुनसकेकोमा सबै पूर्व विधायकहरूको पक्षबाट उनले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिए।
यसरी नै मनन केन्द्रमा वृहत रुपमा स्थापना दिवस कार्यक्रम सम्पन्न गराउन सहयोग पुऱ्याउने सबैलाई परिसंघले प्रशस्ति पत्र प्रदान गर्दै आभार व्यक्त गऱ्यो। आगामी दिनहरूमा पनि परिसंघको कार्यक्रमलाई राम्रोसँग आयोजन गर्नको निम्ति सबैको तर्फबाट परामर्श अनि सहयोगको अपेक्षा राखेको पनि परिसंघका सदस्यहरूले विचार राखे।
यसरी नै सभालाई सम्बोधन गर्दै पूर्व विधायक परिसंघका अध्यक्ष एवं पूर्व विधायक डीबी ठटालले यो पल्टको स्थापना दिवस केवल राज्यस्तरीय रुपमा नरहेर मुख्यमन्त्री प्रेमसिंह तामाङको सहयोगमा वृहत रुपमा आयोजन गर्न सकेकोमा खुशी व्यक्त गरे। यो भन्दा अघिको स्थापना दिवसहरू यसरी आयोजना गर्न नसकेको कुरा बताए।
पूर्व मुख्यमन्त्री पवन चामलिङको अहमको कारण १९ वर्षसम्म पूर्व विधायक परिसंघले कुनै कार्यक्रम पनि आयोजना गर्न सक्षम नबनेको उनले अवगत गराए। तर वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङको कारणले नै यसरी बृहत कार्यक्रमको आयोजना गर्न सकेकोमा उनले खुशी व्यक्त गर्दै पूर्व विधायकहरूको शीर फेरि खड़ा भएको उनले विश्वास व्यक्त गरे।









