पीएफ अधिकारीद्वारा लङभ्यू चिया बगान कार्यालय सिलबन्दी

IMG-20260701-WA0090

खरसाङ: खरसाङको लङभ्यू चिया बगानका मालिक गोविन्द गर्गले श्रमिकहरूको करोडौँ रुपियाँ पीएफ रकम जम्मा नगरेको आरोप लामो समयदेखि लाग्दै आएको थियो। तर आजसम्म सम्बन्धित निकायबाट प्रभावकारी कारबाही भएको थिएन। हिल प्लान्टेशन इम्प्लोइज युनियनको नेतृत्वमा लङभ्यू चिया बगानका श्रमिकहरूले विगत केही वर्षदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आफूहरूको पीएफ, ग्राजुएटी तथा अन्य बक्यौता रकम भुक्तानीको माग गर्दै आएका थिए। तर मालिकको मनपरी र सम्बन्धित विभागको ढिलासुस्तीका कारण श्रमिकहरूको माग लामो समयसम्म सम्बोधन हुन सकेको थिएन। राज्य सरकार परिवर्तन हुनुअघि गत अप्रेल महिनादेखि श्रमिकहरूले पुनः आन्दोलन सुरु गरेका थिए। हाल पनि श्रमिकहरूको ७२ घण्टे आन्दोलन जारी छ। यसै क्रममा आन्दोलनकारीहरूको एक टोलीले सम्बन्धित विभागहरूमा निरन्तर धाएर मालिक गोविन्द गर्गविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै आएको थियो।

यसैको परिणामस्वरूप आज क्षेत्रीय पीएफ कार्यालयबाट आएको निरीक्षण टोलीले लङभ्यू चिया बगानको कार्यालय, व्यवस्थापक कार्यालय (म्यानेजर अफिस) तथा बङ्गलामा छानबिन गरेको छ। टोलीले सम्बन्धित सम्पत्तिमा कुडकी प्रक्रिया अघि बढाउँदै कार्यालय, व्यवस्थापक कार्यालय र बङ्गलामा सार्वजनिक रूपमा सूचना टाँसेर सिलबन्दी गरेको छ। यता आन्दोलनरत् श्रमिकहरूले मालिक गोविन्द गर्गका अन्य सम्पत्तिहरू पनि कुडकी गरी आफूहरूको पीएफ, ग्राजुएटी तथा अन्य बक्यौता रकम यथाशीघ्र भुक्तानी गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

About Author

Advertisement