‘स्वस्थ सिक्किम र समृद्ध भारत’ निर्माणमा चिकित्सकको भूमिका महत्त्वपूर्ण
गान्तोक: सिक्किमका माननीय राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रिय चिकित्सक दिवस (डाक्टर्स डे) को पूर्वसन्ध्यामा राज्यका सम्पूर्ण कर्मठ चिकित्सक तथा चिकित्सा क्षेत्र सम्बद्ध समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। लोकभवन, गान्तोकबाट मङ्गलबार जारी गरिएको एक विशेष शुभकामना सन्देशमार्फत राज्यपाल माथुरले मानव जीवनलाई सुरक्षित र स्वस्थ राख्न दिन-रात नभनी अहोरात्र खटिने चिकित्सकहरूको निस्वार्थ सेवा भावको उच्च प्रशंसा गरेका हुन्।
आफ्नो सन्देशमा राज्यपालले यो विशेष दिन महान चिकित्सक डा. बिधानचन्द्र रोयको स्मृतिमा समर्पित रहेको उल्लेख गर्दै उनको जीवन चिकित्सा क्षेत्रमा सेवा र समर्पणको एउटा उत्कृष्ट उदाहरण भएको बताए। उनले यो दिवस समाजमा चिकित्सकहरूले पुर्याएको अमूल्य योगदान र उनीहरूको त्यागप्रति कृतज्ञता प्रकट गर्ने एउटा महत्त्वपूर्ण अवसर भएको उल्लेख गरे। ‘स्वस्थ सिक्किम र समृद्ध भारत’ को सपनालाई साकार पार्न हाम्रा चिकित्सकहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको कुरामा जोड दिँदै उनले हरेक नागरिकले उत्कृष्ट स्वास्थ्य सेवा पाउने समाजको निर्माणमा लाग्न सबैलाई आह्वान गरे। राज्यपाल माथुरले ईश्वरसँग सम्पूर्ण चिकित्सकहरूको उत्तम स्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको कामना गर्दै उनीहरूलाई राष्ट्र र समाज कल्याणको मार्गमा निरन्तर अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना समेत गरे।










