ईपीएफओको पत्रले लङभ्यू चिया बगान सम्बन्धी नयाँ तथ्य सार्वजनिक

1640027957_tea

पीएफ कार्यालयले किस्तीको व्यवस्था गरिदिएको भ‌निए पनि ईपीएफओको पत्रमा कम्पनी कमजोर रहेको खुलासा

खरसाङ: खरसाङको लङभ्यू चिया बगानका एचआर सावारी घोषले गत १९ जून २०२६ मा खरसाङमा आयोजित बैठकमा “पीएफ कार्यालयले किस्तीमा पीएफ तिर्ने व्यवस्था गरिदिएको छ” भन्ने जानकारी दिएकी थिइन्। तर ईपीएफओ क्षेत्रीय कार्यालय, सिलगढीको २९ जून २०२६ को आधिकारिक पत्रले भने फरक अवस्था देखाएको छ। हिल प्लान्टेसन इम्प्लोइज युनियनलाई पठाइएको उक्त पत्रमा ईपीएफओले स्पष्ट रूपमा उल्लेख गरेको छ कि लङभ्यू चिया बगान व्यवस्थापनले किस्ती सुविधाका लागि आवश्यक अनिवार्य शर्तहरू पूरा गरेको छैन र आवश्यक कागजातहरू पनि बुझाएको छैन। विभागलाई कम्पनीको कागज समेत जम्मा गर्न नसक्ने मालिकले कसरी बगान चलाउन सक्छ? उक्त पत्रले गम्भीर प्रश्न उठाएको छ।
यसको साथै यसले गत १९ जूनको बैठकमा गरिएको “पीएफ कार्यालयले किस्तीको व्यवस्था गरिदिएको छ” भन्ने भनाइ र ईपीएफओको आधिकारिक पत्रबीच स्पष्ट अन्तर देखिएको श्रमिकहरूको भनाइ छ। यसैबीच पीएफ विभागले श्रमिकहरूको बक्यौता पीएफ रकम नतिरेसम्म लङभ्यू चिया बगानका बङ्गला तथा कार्यालयहरू सिलबन्दी गरेको छ।
अर्कोतर्फ, श्रम विभागले २ जुलाई २०२६ मा पीएफ आयुक्तको उपस्थितिमा त्रिपक्षीय बैठक बोलाएको छ। उक्त बैठकमा पीएफ, ग्राजुएटी तथा अन्य बक्यौता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।बयता आन्दोलनरत् श्रमिकहरूले भने आफ्ना सबै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका छन्। अब सबैको ध्यान २ जुलाईको त्रिपक्षीय बैठकतर्फ केन्द्रित भएको छ। श्रमिकहरूले ईपीएफओको आधिकारिक पत्रले वास्तविक अवस्था स्पष्ट पारेको र अब बक्यौता रकम भुक्तानीमा थप ढिलाइ हुन नहुने बताएका छन्।

About Author

Advertisement