धारा ३७० खारेजीको ७ औँ वर्षमा पाकिस्तानी सेनाको दोहोरो चरित्र उदाङ्गो
नयाँ दिल्ली: जम्मु-कश्मीरबाट भारतीय संविधानको धारा ३७० खारेज भएको सात वर्ष पूरा भएको अवसरमा पाकिस्तानी सेनाले पुनः आफ्नो पुरानै अडान दोहोर्याउँदै बयान जारी गरेको छ। प्रत्येक वर्ष ५ अगस्टलाई ‘यौम-ए-इस्तेहसाल’ (शोषणको दिन) का रूपमा मनाउँदै आएको पाकिस्तानले यस पटक पनि भारतविरुद्ध आक्रामक बयानबाजी गरेको छ। तर, एकातिर पाकिस्तान नियन्त्रित कश्मीर (पिओके) मा आफ्नै नागरिकमाथि सेनाले गोलि बर्साएर अत्याचार गरिरहेको छ भने अर्कोतिर जम्मु-कश्मीरका जनताको अधिकारका लागि लडिरहेको नाटक गरिरहेको छ, जसले पाकिस्तानी सेनाको दोहोरो चरित्रलाई छर्लङ्ग पारेको छ।
पाकिस्तानी सैन्य नेतृत्वको संयुक्त बयान
पाकिस्तानी सेनाको मिडिया विङ (आइएसपिआर)ले जारी गरेको विज्ञप्ति अनुसार सेना प्रमुख असीम मुनिर, नौसेना प्रमुख एडमिरल नवीद अशरफ र वायु सेना प्रमुख एयर चीफ मार्शल जहिर अहमद बाबर सिद्धूले संयुक्त बयान जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ:
दक्षिण एसियामा स्थायी शान्ति स्थापनाका लागि जम्मु-कश्मीर विवादको संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुसार समाधान हुनु अनिवार्य छ।
सन् २०१९ अगस्ट ५ मा भारत सरकारले कश्मीरको विशेष दर्जा (धारा ३७०) खारेज गरेर यसलाई दुई केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि त्यहाँको जनसांख्यिक ढाँचा बदल्ने प्रयास भइरहेको छ।
विश्व समुदायले भारतमाथि जम्मु-कश्मीरका जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न दबाब दिनुपर्छ।
पिओकेमा जनआक्रोश र सेनाको दमन
पाकिस्तानी सेनाले जम्मु-कश्मीरका जनताप्रति सहानुभूति देखाउन खोजे पनि पिओकेभित्रको वास्तविक अवस्था भने निकै भयावह छ। पिओकेमा महँगी, अधिकार कटौती र पाकिस्तानी सेनाको हस्तक्षेपविरुद्ध हजारौँ सर्वसाधारण सडकमा उत्रिएका छन्।
मस्जिदमा आक्रमण र हिंसा: प्रदर्शन दबाउन पाकिस्तानी सेनाले सर्वसाधारणमाथि गोली चलाएको छ। स्थानीय मस्जिदसमेत आक्रमणको निशाना बनेको र इमामको हत्या भएपछि क्षेत्रमा जनआक्रोश झनै भड्किएको छ।
विदेशी मिडियामाथि प्रतिबन्ध: पिओकेमा भइरहेका मानवअधिकार उल्लङ्घनका घटनाहरूलाई विश्वसामु पुग्न नदिन पाकिस्तान सरकारले विदेशी मिडिया र पत्रकारहरूमाथि कडा प्रतिबन्ध लगाएको छ।
पाकिस्तानी विज्ञहरूका अनुसार बलोचिस्तानपछि अब पिओके र सिन्ध प्रान्तमा पनि पाकिस्तानी सेना प्रमुख असीम मुनिर र शहबाज शरीफ सरकारविरुद्ध विद्रोहको स्थिति सिर्जना भएको छ।










