न्यूजील्याण्डले अन्तमा गएर पाकिस्तानमा पहिलोपल्ट वनडे सीरीज जित्यो। कराचीमा खेलिएको तेस्रो तथा निर्णायक वनडे म्याचमा न्यूजील्याण्डले पाकिस्तानलाई २ विकेटले पराजित गऱ्यो। यसको साथै न्यूजील्याण्डले तीनवटा म्याचको सीरीज २-१-ले जित्यो। यस ऐतिहासिक जीतमा ग्लेन फिलिप्सले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। कराचीको नेशनल स्टेडियममा पहिला ब्याटिंग गर्दै पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बटुलेको थियो। जवाफमा न्यूजील्याण्डले एक समय २०५ रनमा ६ विकेट गुमाइसकेको थियो तर फिलिप्सले ४४ बलमा ४ वटा चौका र ४ वटा छक्काको साथ अविजित ६३ रन बनाएर आफ्नो टीमलाई जीत दिलाए। यसरी न्यूजील्याण्डले ११ बल बाँकी रहँदै ८ विकेट गुमाएर २८१ रनको लक्ष्यलाई हासिल गऱ्यो।
म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानको शुरुवात खराब रह्यो। शान मसूद शून्य अनि कप्तान बाबर आजम केवल ४ रन बनाएर आउट भए। त्यसपछि ओपनर फखर जमां अनि मोहम्मद रिजवानले ईनिंग्सलाई सम्हाले। यी दुईले १५४ रनको पार्टनरशीप गरे, जसमा रिजवानले ७४ बलमा ७७ रनको योगदान दिए। फखरले म्याचमा १२२ बल खेलेर १० वटा चौका र एउटा छक्काको साथ १०१ रन बनाए। यो वनडे इण्टरनेशनलमा उनको आठौं शतक हो। पाकिस्तानका अन्य खेलाड़ीहरूमा अघा सलमानले ४५ र हेरिस सोहेलले २२ रनको योगदान दिए। न्यूजील्याण्डका बलरहरूमा टीम साउदीले सर्वाधिक ३ विकेट लिए। यसबाहेक लौकी फर्ग्यूसनले २ विकेट हासिल गरे।
लक्ष्यलाई खेदो गर्दै न्यूजील्याण्डलाई ओपनरद्वय फिल एलन र डेवन कनवेले आक्रामक शुरुवात दिलाए। फिनले २५ अनि कनवेले ५२ रन बनाए। त्यसपछि कप्तान केन विलियम्सनले ५३ अनि डेरल मिचेलले ३६ बलमा ३१ रन बनाए। यति सब भएर पनि न्यूजील्याण्ड एक समय दबाउमा रहेको थियो तर फिलिप्सले उत्कृष्ट ब्याटिंग गर्दै टीमलाई यादगार जीत दिलाए। पाकिस्तानका बलरहरूमा मोहम्मद वासिम र अघा सलमानले २-२ विकेट लिए। तीनवटा म्याचमा १५३ रन बनाउने डेवोन कनवेलाई प्लेयर अव् द सीरीज अनि फिलिप्सलाई प्लेयर अव् द म्याच चयन गरियो।











