मन्त्री पुरनकुमार गुरुङद्वारा दिगो मत्स्य पालन विकासमा जोड
पाकिम: सिक्किम सरकारको मत्स्य विभागको सहयोगमा र ‘प्रधानमन्त्री मत्स्य सम्पदा योजना’ अन्तर्गत पाकिम जिल्लाको डुगा ब्लकस्थित कामेरे गाउँमा नवनिर्मित मत्स्य कियोस्कको बुधबार औपचारिक उद्घाटन गरिएको छ। कृषि, बागवानी, पशुपालन तथा मत्स्य विभागका मन्त्री एवं छुजाचेनका विधायक श्री पुरनकुमार गुरुङले मुख्यमन्त्रीका सल्लाहकार श्री विष्णु कुमार शर्माको विशिष्ट उपस्थितिमा उक्त कियोस्कको उद्घाटन गर्नुभएको हो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री पुरनकुमार गुरुङले सोरेङ जिल्लालाई देशकै पहिलो प्राङ्गारिक मत्स्य पालन क्लस्टरको रूपमा मान्यता मिल्नु राज्य सरकारको दिगो मत्स्य विकासप्रतिको प्रतिबद्धताको प्रतिफल भएको बताउनुभयो। उहाँले ग्रामीण अर्थतन्त्र बलियो बनाउन सरकारले पीएम किसान सम्मान निधि, सिक्किम गरिब आवास योजना, आमा सशक्तीकरण योजना, आमा सहयोग योजना र राष्ट्रिय गोकुल मिसन जस्ता विभिन्न जनपक्षीय कल्याणकारी योजनाहरू निरन्तर लागू गरिरहेको जानकारी दिनुभयो।

”हाम्रो हिमाली क्षेत्रमा व्यावसायिक ट्राउट माछा पालनको प्रचुर सम्भावना छ। यसलाई आम्दानीको दिगो स्रोत बनाउन सरकारले विशेष प्रवर्द्धन गरिरहेको छ”: मन्त्री पुरनकुमार गुरुङ
मन्त्री गुरुङले शिक्षा र जीविकोपार्जनको महत्त्वबारे बोल्दै विद्यार्थीहरूलाई प्रतिस्पर्धी परीक्षाको तयारी गर्न र अभिभावकहरूलाई आफ्ना सन्तानलाई जिम्मेवार नागरिक बनाउन मार्गदर्शन गर्न आग्रह गर्नुभयो। उहाँले सरकारी कर्मचारीहरूलाई पनि आत्मनिर्भरता र दिगो जीवनशैलीका लागि सानो स्तरमै भए पनि खेतीपातीमा जोडिन अपिल गर्नुभयो।
कार्यक्रममा ‘राष्ट्रिय उत्कृष्ट मत्स्य कृषक पुरस्कार २०२५’ विजेता प्रगतिशील किसान श्री खेमकुमार क्षेत्रीले एकीकृत खेती, माछा पालन र मौरीपालन सम्बन्धी आफ्ना व्यावहारिक अनुभवहरू साझा गर्नुभयो। उहाँले मत्स्य विभागबाट प्राप्त सहयोगप्रति सरकारलाई धन्यवाद प्रकट गर्नुभयो।
उद्घाटन समारोहअघि मन्त्री गुरुङले पाकिम नयाँ बजारमा रहेको फिश कियोस्कको निरीक्षण गर्नुका साथै सजावटी माछा प्रजनन तथा पालन एकाइको अवलोकन गरी कृषकहरूसँग संवाद गर्नुभएको थियो।











