तीव्र गतिमा काम भइरहेको दाबी, मन्त्री र जिल्लापालद्वारा स्थलगत अवलोकन
मङ्गन: चुङथाङ-लाचेन सडक खण्ड अन्तर्गत तरुम छुमा भइरहेको सडक मर्मत तथा पुनःस्थापना कार्यको बुधबार तेस्रो पटक संयुक्त निरीक्षण गरिएको छ। सिक्किम सरकारका सामाजिक कल्याण मन्त्री एवं स्थानीय विधायक समडुप लेप्चाको नेतृत्वमा उच्च अधिकारीहरूको टोलीले स्थलगत निरीक्षण गरी कार्य प्रगतिको समीक्षा गरेको हो।
निरीक्षण टोलीमा मङ्गनका जिल्लापाल (डीसी) अनन्त जैन, पुलिस अधीक्षक (एसपी) एल.बी. क्षेत्री, चुङथाङका महकुमा अधिकारी (एसडीएम) अरुण क्षेत्री र ८६ आरसीसी (ग्रेफ) का ओसी मेजर डी. विवेक लगायत स्थानीय जनप्रतिनिधि एवं सर्वसाधारणको उपस्थिति रहेको थियो।
निरीक्षणका क्रममा ८६ आरसीसी (ग्रेफ) का कमाण्डिङ अफिसर मेजर डी. विवेकले सडकको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले चाँडोभन्दा चाँडो यातायात सेवा सुचारु गर्नका लागि दिनरात निरन्तर मर्मत कार्य भइरहेको बताए। सो अवसरमा ड्रोन फुटेजमार्फत सडक खण्डको पछिल्लो अवस्था र भावी कार्ययोजनाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।
मेजर विवेकका अनुसार तीन दिनअघि गएको सानो पहिरोका कारण मर्मत कार्यमा केही समय अवरोध सिर्जना भए तापनि तत्काल काम सुरु गरी अहिले तीव्र गतिमा अघि बढाइएको छ। मौसम अनुकूल रहे र जमिन थप नजोगिए आगामी केही दिनभित्रै सडक पूर्ण रूपमा खुलाउन सकिने उनले जानकारी दिए।
मर्मत कार्यको प्रत्यक्ष अवलोकन गरेपछि मन्त्री समडुप लेप्चा र जिल्लापाल अनन्त जैन लगायतको टोलीले कामको गति र गुणस्तरप्रति सन्तोष व्यक्त गरेको छ।

विकट हिमाली क्षेत्रमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद सडक सञ्जाल पुनः स्थापित गर्न अहोरात्र खटिएका अधिकारी तथा प्राविधिक टोलीलाई मन्त्री लेप्चाले धन्यवाद ज्ञापन गर्नुभयो।











