वैकल्पिक मार्ग प्रयोग गर्न पुलिसकाे अपिल
सिलगढी: आगामी रथयात्रा र पुनर (उल्टो) रथयात्रा पर्वलाई लक्षित गरी सिलगढी महानगर क्षेत्रमा सवारी साधन आवतजावतका लागि विशेष ट्राफिक व्यवस्थापन लागू गरिएको छ। सिलगढी पुलिस कमिस्नरेटले भक्तजन तथा सर्वसाधारणको सुरक्षा र सहजताका लागि विभिन्न सडक खण्डहरूमा अस्थायी प्रतिबन्ध र मार्ग परिवर्तन (डाइभर्सन) गरिएको जनाएको छ।
प्रहरीद्वारा जारी ट्राफिक एडभाइजरी (निर्देशिका) अनुसार बिहीबार (१६ जुलाई २०२६) हुने रथयात्रा र आगामी साउन ९ गते (२४ जुलाई २०२६) हुने पुनर रथयात्राका दिन यो नियम लागू हुनेछ। सो अवधिमा मुख्य सडकहरूमा हुन सक्ने सवारी चाप र सम्भावित दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक मार्गहरूको प्रयोग गर्न पुलिसले आग्रह गरेको छ।
सिलिगुडी ट्राफिक पुलिसले यात्रुहरूलाई असुविधाबाट बच्न आफ्नो यात्रा तालिका पहिले नै तय गर्न र सडकमा खटिएका ट्राफिक प्रहरीहरूको निर्देशन पालना गरी सहयोग पुर्याउन अपिल गरेको छ। रथयात्रा उत्सवलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन आम नागरिकको सहयोग अपरिहार्य रहेको प्रहरीको भनाइ छ।










