आईसीबीआईद्वारा विचार-विमर्श कार्यक्रम आयोजना
कोलकाता: इन्टरनेसनल चेम्बर अफ बिजनेस एन्ड इन्डस्ट्री (आईसीबीआई) ले पश्चिम बङ्गालको भावी विकास, औद्योगिक पुनरुत्थान र आर्थिक समृद्धिका विषयमा एक उच्चस्तरीय संवाद कार्यक्रम सम्पन्न गरेको छ। कोलकातास्थित आईटीसी रोयलमा आयोजित उक्त कार्यक्रममा “पश्चिम बङ्गाल: विगत ५० वर्षमा हामीले के गुमायौँ र आगामी १० वर्षमा के हासिल गर्ने योजना छ?” शीर्षकमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका मुख्य वक्ता राज्यसभा सांसद एवम् भारतीय जनता पार्टी (भाजपा) पश्चिम बङ्गालका प्रदेश अध्यक्ष समिक भट्टाचार्यले राज्यमा प्रशासनिक बाधा-अड्चनमुक्त वातावरण बनाएर लगानी, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्नु नै प्राथमिक उद्देश्य रहेको बताउनुभयो। उहाँका अनुसार १०० करोड वा सोभन्दा बढी लगानी गर्ने लगानीकर्ताहरूलाई पूर्ण सहयोग प्रदान गरिनेछ र उहाँहरूका लागि कुनै पनि स्तरमा अवरोध उत्पन्न हुन दिइने छैन। उहाँले आर्थिक विकासका साथै समाजका पछाडि पारिएका वर्गहरूको कल्याण सुनिश्चित गर्दै पारदर्शी र लगानीमैत्री बङ्गाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका संस्थापक ट्रष्टीहरू महेश कुमार केडिया, आदित्य मुरारका र विष्णु सुरेका तथा कार्यक्रम संयोजिका विनीता अग्रवालको उपस्थिति रहेको उक्त समारोहमा प्रमुख उद्योगी, व्यवसायी, अर्थशास्त्री र विभिन्न क्षेत्रका विज्ञहरूको बाक्लो सहभागिता थियो।

संस्थापक ट्रष्टीहरूले नीति-निर्माता र उद्योग जगतलाई एउटै मञ्चमा ल्याएर फलदायी छलफल गराउन पाउँदा खुसी व्यक्त गर्दै यस्ता संवादले पश्चिम बङ्गालको दीर्घकालीन आर्थिक पुनर्निर्माणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको समापन सहभागीहरूबीचको पारस्परिक विचार-विमर्श र स्वागत समारोहसँगै भएको थियो।










