कोलकाता: पश्चिम बङ्गाल सरकारद्वारा गठित सातौँ वेतन आयोगको पहिलो बैठक सोमबार राज्य प्रशासनिक मुख्यालय नवान्नमा सम्पन्न भएको छ। आयोगका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले आयोगको कार्यक्षेत्रभित्र पर्ने विभिन्न सरकारी सेवा, वैधानिक निकाय, निगम तथा उपक्रमहरूको वर्तमान वस्तुस्थितिको समीक्षा गरेको छ। यसका साथै आगामी कार्यसम्पादनको कार्यदिशा र कार्ययोजना (रोडम्याप) माथि पनि प्रारम्भिक छलफल भएको छ।
आयोगका अनुसार आधिकारिक सूचना सम्प्रेषण गर्न, सुझाव सङ्कलन गर्न, तथ्याङ्क सङ्कलन गर्न तथा ज्ञापनपत्रहरू प्राप्त गर्नका लागि शीघ्र नै एक आधिकारिक वेबसाइट सञ्चालनमा ल्याइने निर्णय गरिएको छ। आयोगका सम्पूर्ण गतिविधि तथा निर्णयहरू सोही वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
यसैबीच, सामाजिक सञ्जालहरूमा आयोगका सिफारिसहरू भन्दै भ्रामक तथा अनधिकृत सूचनाहरू प्रचार भइरहेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले स्पष्ट पार्दै भर्खरै मात्र काम सुरु भएकाले हालसम्म कुनै पनि किसिमको सिफारिस नगरिएको जनाएको छ। अनधिकृत स्रोत वा सामाजिक सञ्जालमा आउने यस्ता गलत तथा तथ्यहीन भ्रामक समाचारहरूको भ्रममा नपर्न आयोगले सर्वसाधारण तथा कर्मचारीहरूलाई अपिल गरेको छ।











