कोलकाता: पश्चिम बंगालको आतिथ्य (हस्पिटालिटी) तथा पर्यटन क्षेत्रलाई सुदृढ बनाउन र लगानीका नयाँ अवसर सिर्जना गर्ने विषयमा राज्य सरकार र व्यवसायीहरूबीच उच्चस्तरीय छलफल भएको छ।
बंगाल एसोसिएसन अफ होटल्स एन्ड रेस्टुरेन्ट्स (बीएएचआर) को प्रतिनिधिमण्डलले पश्चिम बंगालकी मुख्यमन्त्रीका मुख्य सल्लाहकार डा. सुब्रत गुप्तसँग नबान्नस्थित उहाँको कार्यालयमा भेटघाट गरी फलदायी छलफल गरेको हो।
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुग्नुभएका सुबोर्नो बोसले भेटका क्रममा राज्यको पर्यटन र हस्पिटालिटी क्षेत्रलाई थप बलियो बनाउने, नयाँ लगानी आकर्षित गर्ने तथा रोजगारीका अवसरहरू अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिनुभयो।
भेटपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै बोसले डा. गुप्तको मार्गदर्शन, अमूल्य समय र प्रोत्साहनका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।
उक्त भेटघाटमा इन्टरनेसनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) का प्रतिनिधिहरूसहित गौरभ सोनेजा, रजनीश कुमार, मोलोय दत्ता र श्रीन्जय सेनको समेत उपस्थिति रहेको थियो।





