पर्यटन विभागद्वारा बाकुचेन-ताम्जे पदयात्रा मार्गको अनुगमन

FB_IMG_1784385563071

दिगो साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

गान्तोक: सिक्किम सरकारको दिगो, समुदायमा आधारित र वातावरणीय रूपमा जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने दृष्टिकोण अनुरूप, पर्यटन तथा नागरिक उड्डयन विभागले ताम्जेदेखि बाकुचेन उपत्यकासम्मको प्रस्तावित ग्रीष्मकालीन/मनसुन पदयात्रा मार्ग (ट्रेकिङ ट्रेल) को एकदिने विस्तृत अनुगमन (रेक्की) सम्पन्न गरेको छ। पर्यटन तथा नागरिक उड्डयन विभागकी सचिव सुश्री होन्डला ग्याल्छेनको नेतृत्वमा रहेको टोलीले यस प्रस्तावित मार्गको सम्भाव्यता, पहुँचयोग्यता, पारिस्थितिक संवेदनशीलता, सुरक्षा मापदण्ड र पर्यटन सम्भावनाको स्थलगत निरीक्षण गर्‍यो।
​अनुगमनका क्रममा साहसिक पर्यटन विभागका संयुक्त निर्देशक श्री काजी शेर्पाले मार्गको रेखांकन, भूभाग, उचाइ, सुरक्षा उपाय, शिविर (क्याम्पसाइट) को उपयुक्तता र वातावरणीय पक्षहरू समेटिएको विस्तृत प्राविधिक मूल्याङ्कन प्रस्तुत गर्नुभयो. यो ताम्जे मार्ग जिम्मेवार पर्यटन अभ्यास र पारिस्थितिक संरक्षण सुनिश्चित गर्दै एक प्रमुख साहसिक पर्यटन गन्तव्यको रूपमा विकसित हुन सक्ने प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो।
​यस निरीक्षण टोलीमा पर्यटन विभागका विशेष सचिव डा. प्रेरणा चामलिङ, अतिरिक्त निर्देशक श्री तेन्जिङ गेले, उप-निर्देशक श्री मनोज क्षेत्री, सहायक निर्देशक श्री वृन्दा मोहन सुब्बा, सहायक निर्देशक (सूचना तथा प्रचार) सुश्री विजेता क्षेत्रीका साथै स्थानीय समुदायका सदस्यहरू सहभागी थिए।

अनुगमनका क्रममा भारतीय सेनाको ११ जीआर का जवानहरूले टोलीलाई सुरक्षा र सुरक्षित आवागमनमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए। जैविक विविधताले धनी ताम्जे उपत्यका विशेष गरी गर्मी महिनाहरूमा विभिन्न प्रकारका जङ्गली फूलहरू (विशेष गरी आइरिस) ले ढाकिने हुनाले यो सिक्किमको एक आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ।

About Author

Advertisement