परम्परागत खेलको संरक्षणमा जोड दिँदै ‘प्रथम गभर्नर्स आर्चरी गोल्डकप’ सम्पन्न, उपाधि ‘ग्रीन तारा’लाई

FB_IMG_1790700896682

​गान्ताेक: सिक्किमको ताथाङ्चेनमा आयोजित ‘प्रथम गभर्नर्स आर्चरी (धनुर्विद्या) गोल्डकप’ सम्पन्न भएको छ। सिक्किमका गभर्नर ओम प्रकाश माथुरको विशेष उपस्थितिमा बिहीबार दिउँसो सम्पन्न उक्त प्रतियोगिताको उपाधि ‘ग्रीन तारा’ टोलीले हात पारेको छ। कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को पनि सहभागिता रहेको थियो।
​मुख्यमन्त्री तामाङले प्रतियोगितामा सहभागी हुँदै आर्चरी खेल मात्र नभई अनुशासन, धैर्यता, सटिकता, एकाग्रता र चारित्रिक शक्ति झल्काउने सिक्किमको बहुमूल्य परम्परागत सम्पदा भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सिक्किम जस्तो सांस्कृतिक रूपमा धनी राज्यमा आधुनिक खेलकुद प्रतिभाको विकास सँगसँगै परम्परागत तथा रैथाने खेलहरूको प्रवर्द्धन र संरक्षण गर्नु उत्तिकै महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन्।

​यस्ता मञ्चहरूले युवा पुस्तालाई आफ्नो जरासँग जोडिन, खेलकुदमा उत्कृष्टता हासिल गर्न र पुर्खाबाट हस्तान्तरण हुँदै आएका परम्पराहरूलाई अघि बढाउन महत्त्वपूर्ण अवसर प्रदान गर्ने मुख्यमन्त्रीले उल्लेख गरेका छन्।
​उनले उपाधि विजेता ‘ग्रीन तारा’ टोलीलाई बधाई दिँदै प्रतियोगितामा उत्कृष्ट खेल भावना प्रदर्शन गर्ने सम्पूर्ण सहभागी टोलीहरूलाई शुभकामना व्यक्त गरेका छन्। साथै, मुख्यमन्त्रीले परम्परागत खेलकुदको निरन्तर प्रवर्द्धन गर्दै युवा खेलाडीहरूलाई सशक्त बनाउन र सिक्किमको समृद्ध खेलकुद सम्पदालाई आउँदा पुस्ताहरूका लागि जीवित राख्न सबैलाई आह्वान समेत गरेका छन्।

About Author

Advertisement