खरसाङ: जीटीएका सभासद एवं टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाले सभासद पदबाट राजीनामा दिएका छन्। सभासद नुरी शेर्पाले शुक्रवार एउटा भिडियो जारी गर्दै दार्जिलिङ पहाडमा भईरहेको राजनैतिक उत्तर चढाऊ साथै केन्द्र र राज्यमा दुवैतिर डबल इञ्जिनको सरकार भएको बेला गोर्खाहरुको समस्या समाधान हुने आशा व्यक्त गर्दै जीटीएको सभासद पदबाट राजीनामा दिएको बताएका छन्। उनले भनेका छन्, ‘गोर्खाहरुको लामो समयदेखिको मागलाई डबल ईञ्जिनको सरकारले फत्ते गर्न सक्ने महशुस गरेका छौँ। हामी जातिको लागि माटोको लागि र सम्पूर्ण गोर्खा जातिको लागि र जनताको आकांक्षालाई पूरा गर्न सभासदको पदबाट राजीनामा दिन्दछौँ।’
उल्लेखनीय छ, जीटीए प्रमुख अनित थापाले जीटीए प्रमुख कार्यपालको पदबाट राजीनामा दिएपछि सभासदहरुले भटाभट राजीनामा दिईरहेका छन् भने अर्कोतिर २० जना सभासदहरुले एउटा बेग्लै बैठक गरेका थिए जसको कारण धेरै चर्चा परिचर्चा चलिरहेको थियो।उल्लेखनीय छ, सभासद नुरी शेर्पा लगायत अन्य कतिपय सभासदहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिईसकेका छन् भने शुक्रवार सभासद पदबाट पनि राजीनामा दिएका छन्।









