‘नारी शक्ति वन्दन अधिनियम’ समर्थनमा सिक्किममा भव्य र्‍याली हुने

Screenshot_20260414_225412_Google

गान्तोक: ‘नारी शक्ति वन्दन अधिनियम’ को समर्थनमा राजधानी गान्तोकमा भव्य र्‍याली निकालिने भएको छ। अराजनीतिक रूपमा आयोजना गरिने उक्त र्‍यालीमा राज्यभरका महिलाहरूको सहभागिता रहनेछ।
र्‍याली आगामी १७ अप्रेल, २०२६ मा आयोजना गरिनेछ।
सिक्किम विधानसभाकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष राजकुमारी थापाले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएकी हुन्। उनले ‘नारी शक्ति वन्दन अधिनियम’ माथि आगामी १६ अप्रेल, २०२६ मा संसदमा छलफल हुने बताउँदै यसको समर्थन तथा स्वागतस्वरूप र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति धन्यवाद व्यक्त गर्न र्‍याली आयोजना गरिने स्पष्ट गरिन्।
उनका अनुसार यो र्‍याली पूर्ण रूपमा अराजनीतिक रहनेछ र राज्यका सबै छ जिल्लाबाट ठूलो संख्यामा महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ।
अध्यक्ष थापाले सिक्किममा महिलाहरूलाई विभिन्न क्षेत्रमा अघि बढाउन मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्व महत्वपूर्ण रहेको उल्लेख गर्दै र्‍यालीलाई सरकारको पनि सहयोग रहने बताइन्।
उनले भनिन्, “र्‍याली देवरालीस्थित टाटा स्ट्यान्डबाट बिहान १० बजे सुरु हुनेछ। यो राष्ट्रिय राजमार्ग हुँदै अस्पताल डाँडा भएर पाल्जोर स्टेडियममा पुगेर समापन हुनेछ।”
थापाले ‘नारी शक्ति वन्दन अधिनियम’ ले महिलाहरूलाई निर्णय प्रक्रिया र नीति निर्माणको तहमा सशक्त भूमिका प्रदान गर्ने बताइन्। उनले यसलाई ऐतिहासिक निर्णय भन्दै महिलाहरूको क्षमता र योग्यताका लागि ठूलो अवसर भएको धारणा राखिन्।
उनका अनुसार सशक्त समाज निर्माणका लागि सशक्त महिलाको आवश्यकता छ र अब महिलाहरूले प्राप्त हुने अवसरलाई जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेछ।
कार्यक्रममा विधायक कला राई र विधायक पामिन लेप्चा लगायत अन्यको पनि उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, ‘नारी शक्ति वन्दन अधिनियम’ अन्तर्गत लोकसभा र राज्य विधानसभामा महिलाहरूका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। यसले नीति निर्माण तहमा महिलाको सहभागिता बढाउने लक्ष्य लिएको छ।

About Author

Advertisement