नितिश कुमारद्वारा राजीनामा: बिहारमा दुई दशक लामो ‘नितिश युग’ को अन्त्य

5e75cb47d3dba5f63ff7e8034966c05717761792197761126_original

पटना: बिहारका सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेका नितिश कुमारले मंगलबार आफ्नो पदबाट आधिकारिक रूपमा राजीनामा दिएका छन्। ७५ वर्षीय कुमारले पटनास्थित राजभवन पुगेर गभर्नर सइद अता हसैनलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। योसँगै बिहारको राजनीतिमा झण्डै दुई दशकदेखि कायम रहेको ‘नितिश युग’ को औपचारिक अन्त्य भएको छ।
​नितिशले स्वास्थ्य अवस्था र बदलिँदो राजनीतिक भूमिकालाई राजीनामाको मुख्य कारण बताएका छन्। हालै राज्यसभामा निर्वाचित भएका उनी अब दिल्ली केन्द्रित राजनीतिमा सक्रिय हुनेछन् । राजीनामा दिनुअघि उनले अन्तिम क्याबिनेट बैठक डाकेर मन्त्रिपरिषद् भंग गर्ने निर्णय गर्दै सहकर्मीहरूलाई धन्यवाद दिएका थिए।
​भाजपाको नेतृत्वमा नयाँ सरकार
नितिशको बहिर्गमनसँगै बिहारमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। विधानसभामा ८९ सिटसहित सबैभन्दा ठूलो दल रहेको भाजपाका नेता सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने तय भएको छ। नयाँ मन्त्रिमण्डलको शपथ ग्रहण भोलि वैशाख ३ गते हुने सम्भावना छ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको समेत उपस्थिति रहने बताइएको छ।
​‘सुशासन बाबु’ को विरासत
सन् २००५ देखि (छोटो अन्तराल बाहेक) लगातार बिहारको नेतृत्व गरेका नितिशलाई ‘सुशासन बाबु’ का रूपमा चिनिन्छ। उनको कार्यकालमा छात्राहरूका लागि साइकल योजना, पञ्चायतमा ५० प्रतिशत आरक्षण, मदिरा निषेध र सडक–बिजुलीको विस्तारजस्ता महत्वपूर्ण कामहरू भएका छन्। सामाजिक सञ्जालमार्फत उनले बिहारको सेवा गर्ने मौका दिएकोमा जनता र प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन्।

About Author

Advertisement