३० उद्यमी प्रतिस्पर्धामा, उत्कृष्ट ६ जना सेमिफाइनल पुग्ने
गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागको आयोजनामा नाम्चीमा जिल्ला स्तरीय ‘सिक्किम राइज’ प्रतियोगिता सुरु भएको छ। नवउद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बुधबारदेखि अभिमूखीकरण तथा क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो।
‘सिक्किम इन्स्पायर्स’ कार्यक्रमअन्तर्गत सिड सेलको सहकार्य तथा आईआईएम कलकत्ता इनोभेसन पार्क (आईआईएमसीपी) को प्राविधिक सहयोग (ज्ञान साझेदार) मा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
प्रतियोगिताको पहिलो दिन नाम्ची जिल्लाभरिबाट छनोटमा परेका ३० जना आकांक्षी उद्यमीहरूको सहभागिता रहेको थियो। उनीहरूलाई आइडिएसन (धारणा), प्रोटोटाइप र रेभेन्यु (राजस्व) गरी तीन मुख्य विधामा विभाजन गरी अभिमुखीकरण प्रदान गरिएको छ। कार्यशालामा सहभागीहरूलाई व्यावसायिक ढाँचा विकास, पिचिङ (प्रस्तुतीकरण) कला, बजार सम्भाव्यता र नवप्रवर्तनका व्यावहारिक विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा वाणिज्य तथा उद्योग विभागका विशेष कर्तव्य अधिकारी (ओएसडी) एवं सिड सेलका महासचिव दिपेन सुब्बा, सिड सेलका अध्यक्ष राज लामा, नाम्ची औद्योगिक केन्द्रका महाप्रबन्धक दिनेश प्रधान, सिड सेलकी स्रोत व्यक्ति सुश्री इस्मिता राई र सिड सेलका सह-सचिव विकास बस्नेतको उपस्थिति रहेको थियो।
आईआईएम कलकत्ता इनोभेसन पार्कका स्रोत व्यक्तिहरू राम कुमार र विनीत शवले प्राविधिक सत्रको सहजीकरण गर्दै सहभागीहरूलाई आफ्ना व्यावसायिक योजना परिमार्जन गर्न र बजारका अवसर पहिचान गर्न मार्गदर्शन गरेका थिए।
भोलिदेखि ‘पिचिङ’ सुरु, ६ जना सेमिफाइनलमा पुग्ने
आयोजकका अनुसार जिल्ला स्तरीय प्रतियोगिताको ‘पिचिङ’ (प्रस्तुतीकरण) चरण बिहीबारदेखि सुरु हुनेछ। दुई दिनसम्म चल्ने प्रस्तुतीकरण सत्रमा दैनिक १५ जना सहभागीले विशेषज्ञ निर्णायक मण्डल (जुरी) सामु आफ्ना व्यावसायिक योजना प्रस्तुत गर्नेछन्।
प्रतियोगिताको समापनमा तीनै विधा (आइडिएसन, प्रोटोटाइप र रेभेन्यु) बाट दुई-दुई जना गरी कुल ६ जना उत्कृष्ट उद्यमीलाई नाम्ची जिल्लाको प्रतिनिधित्व गर्दै राज्य स्तरीय सेमिफाइनलका लागि छनोट गरिनेछ।
सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको “एक परिवार, एक उद्यमी” भन्ने महत्त्वाकांक्षी अभियानलाई साकार पार्न यो कार्यक्रम सुरु गरिएको हो। परामर्श, क्षमता अभिवृद्धि र प्रतिस्पर्धात्मक मञ्चमार्फत सिक्किममा नयाँ पुस्ताका उद्यमीहरू तयार पार्ने र प्रदेशको दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।










