नाम्ची न्युयोर्क ग्लोबल शर्ट फिल्म फेस्ट २०२६-मा सेमिफाइनलिस्ट बन्न सफल छोटो चलचित्र ‘द साइलेन्ट इको’-को आज नाम्चीस्थित इम्पेरियल टाकिज-मा विशेष प्रदर्शन आयोजना गरियो।
यस विशेष प्रदर्शन कार्यक्रममा सहरी विकास विभागका मन्त्री भोजराज राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसका साथै सिक्किम युथ डेभलपमेन्ट बोर्डका अध्यक्ष वसन्त योञ्जन, सिक्किम कला, संस्कृति एवम् सम्पदा बोर्डका अध्यक्ष सञ्जय दिलपाली राई, सिक्किम फिल्म प्रमोशन बोर्डका अध्यक्ष टासी भुटिया, पञ्चायती राज सल्लाहकार रमा तामाङ, सिक्किम लेबर वेलफेयर बोर्डका अध्यक्ष प्रेमराज गुरुङ, नाम्ची नगर निगम का अध्यक्ष गणेश राई, खाद्य प्रशोधन उद्योगकी अध्यक्ष कला प्रधान, सिक्किम राज्य शिक्षक नियुक्ति बोर्डकी अध्यक्ष तारामणी मोक्तान, नाम्ची सिङ्गीथाङका विधायकका ओएसडी एस जे लेप्चा, संस्कृति विभागका ओएसडी मणीदास राई, एनएमसी पार्षदहरू, नाम्चीका सीइओ जीपी शर्मा, माथिल्लो जौबारी जुनियर हाई स्कूलकी प्रधानाध्यापिका गीता मङ्गर, विद्यालयका शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू, लिटिल बोय फिल्म्स प्रोडक्सनका सदस्यहरू तथा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।
विश्वभरिबाट प्राप्त २८२ वटा छोटा चलचित्रहरू मध्ये ‘द साइलेन्ट इको’ सेमिफाइनलिस्टको रूपमा छनोट हुन सफल भएको हो। माथिल्लो जौबारी जुनियर हाई स्कूलका शिक्षक वरुण राईद्वारा सोही स्कूलको ‘प्रहरी क्लब’-को सहयोगमा निर्देशित यस चलचित्रले विद्यार्थीहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू तथा उनीहरूले सामना गर्ने भावनात्मक चुनौती र सङ्घर्षलाई प्रस्तुत गरेको छ। यस चलचित्रमा विद्यालयका विद्यार्थीद्वय कुञ्जाङ शेर्पा र फूर्बा ओङ्देप शेर्पाका साथै वरुण राई र सोनम छोडेन भुटियाले मुख्य भूमिका निर्वाह गरेका छन्।
कार्यक्रमको अवसरमा जौबारी जुनियर हाई स्कूल प्रशासनको तर्फबाट विद्यालयको यस पहललाई सहयोग र उपस्थिति जनाएकोमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई सम्मान समेत गरिएको थियो।





