नन्दीग्राम क्षेत्र छोडे मुख्यमन्त्री शुभेन्दु अधिकारीले, भवानीपुरका विधायकका रूपमा लिए शपथ‎

Screenshot_20260514_021747_Google

कोलकाता: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधबार राज्यको नयाँ भारतीय जनता पार्टी सरकारले विधानसभा सञ्चालनमा पूर्ण पारदर्शिता सुनिश्चित गर्ने बताउनुभएको छ। नयाँ सरकार गठनपछि विधानसभा कार्यवाहीको पहिलो दिन भवानीपुर क्षेत्रबाट विधायक पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
‎मुख्यमन्त्रीले जनताको सरकार “जनताका लागि, जनताद्वारा र जनताको” भन्ने मूल सिद्धान्तका आधारमा सञ्चालन हुने तथा विधानसभा कार्यका प्रत्येक पक्षमा यसको प्रतिबिम्ब देखिने बताउनुभयो। उहाँले वर्तमान विधानसभा कार्यप्रणालीमा पूर्ण पारदर्शिता कायम गरिनेमा जोड दिनुभयो।
‎हालै सम्पन्न विधानसभा निर्वाचनमा शुभेन्दु अधिकारी नन्दीग्राम र भवानीपुर दुवै क्षेत्रबाट विजयी हुनुभएको थियो। तर एकैपटक दुई क्षेत्रका विधायक भएर रहन सम्भव नभएकाले भवानीपुर क्षेत्रबाट विधायक पदको शपथ लिएपछि नन्दीग्राम क्षेत्र छोड्ने स्पष्ट पार्नुभयो।
‎उहाँले पूर्व मेदिनीपुर जिल्लाको नन्दीग्रामका जनतासँग आफ्नो सम्बन्ध र सम्पर्क पहिलेझैँ कायम रहने आश्वासन दिनुभयो। आफू त्यहाँका विधायक नभएको समयमै पनि जनतासँग निरन्तर सम्पर्कमा रहेको र भविष्यमा पनि नन्दीग्रामका जनतासँग गरिएका सबै चुनावी प्रतिबद्धता पूरा गरिने उहाँले बताउनुभयो।
‎मुख्यमन्त्रीले तृणमूल कांग्रेसका केही विधायकहरूले भारतीय जनता पार्टीको विजयपछि आफूहरू “स्वतन्त्र” महसुस गरिरहेको बताएको दाबी पनि गर्नुभयो। यद्यपि उहाँले कसैको नाम सार्वजनिक गर्नुभएन।
‎ईरान युद्धबाट उत्पन्न विश्वव्यापी इन्धन संकटको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सवारी काफिलामा सवारीसाधनको संख्या घटाउने निर्णय गरेको विषयको प्रशंसा गर्दै शुभेन्दु अधिकारीले प्रधानमन्त्रीले सादगी र जनहितको सन्देश दिएको तथा राज्य सरकार पनि त्यही दिशामा अघि बढ्ने बताउनुभयो। सुरक्षा सल्लाहकारसँग छलफलपछि आफ्नो सवारी काफिलामा पनि आवश्यकताअनुसार मात्र सवारीसाधन राखिने उहाँले जानकारी दिनुभयो।
‎यस अतिरिक्त उहाँले पार्टीका प्रदेश अध्यक्ष शमिक भट्टाचार्यको निर्देशनअनुसार भारतीय जनता पार्टीले विजय र्‍याली आयोजना नगर्ने बताउनुभयो, ताकि सर्वसाधारणलाई कुनै असुविधा नहोस्। सरकार जनतालाई असहज हुने कुनै अवस्था सिर्जना गर्न नचाहेको उहाँले स्पष्ट पार्नुभयो।
‎मुख्यमन्त्रीले बुधबार कुल १४३ विधायकले शपथ ग्रहण गरिरहेको तथा बाँकी विधायकहरूले बिहीबार शपथ लिने जानकारी पनि दिनुभयो।
‎यता, मुख्यमन्त्री बनेपछि पहिलोपटक विधानसभा पुगेका शुभेन्दु अधिकारीलाई औपचारिक सम्मान प्रदान गरिएको थियो। विधानसभा प्रवेश गर्नुअघि उहाँले प्रवेशद्वारअगाडि शिर झुकाएर प्रणाम गर्नुभएको थियो भने पछि मुख्यमन्त्री कक्षमा प्रवेश गरी विधिपूर्वक पूजा–अर्चना पनि गर्नुभएको थियो।

About Author

Advertisement