घैयाबारी क्षेत्रबाट पुराना पदाधिकारीहरु फर्किन थाले पार्टीमा
खरसाङ: बंगाल विधानसभा चुनावमा भारतीय जनता पार्टीको जीतसितै गठबन्धनमा रहेका गोर्खा जनमुक्ति मोर्चाले पहाडमा आफ्नो सांगठनिक तीब्र पारेर लगेको छ। यसै क्रममा खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा पनि गोजमुमोको सांगठनिक सभा र कमिटी गठनको कार्य तीव्र रूपमा अघि बढिरहेको छ। यसको साथै विभिन्न पार्टीहरु छोडेर साथै लामो समयसम्म कुनै पनि राजनैतिक दलमा नगई बसेका पूर्व पदाधिकारीहरु पुनः सक्रिय रूपमा अघि आईरहेका छन्। यसै क्रममा तीनधारे महानदी समष्टिको घैयाबारीमा गोजमुमोका पुराना पदाधिकारीहरु पार्टीमा फर्किन थालेका छन्। पार्टीमा फर्किने क्रममा घैयाबारीको बुथ नम्बर २५७ बाट गोजमुमो घैयाबारी खण्ड समितिको पूर्व सभापति मणिकुमार छेत्री, पूर्व सचिव राजेन खाती लगायत जम्मा ५ घर गोजमुमोमा फर्किएको जानकारी प्राप्त भएको छ। त्यसरी नै सिलिम हिल २५४ बुथबाट २० घर परिवारहरु गोजमुमोमा फर्किएका छन्। ती सबैजना गोजमुमो घैयाबारीको संयोजक दिप सन्यासीको नेतृत्वमा पार्टीमा फर्किएको जानकारी प्राप्त भएको छ। यस अवसरमा संयोजक दिप सन्यासी, नारी मोर्चाकी नेतृत्व अञ्चली लामा र युवा मोर्चाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए।










