८ मईः भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई) विरुद्ध धरना प्रदर्शन गरिरहेका पहलवानहरूका समर्थनमा अघि आउने किसानहरूले डब्ल्यूएफआई अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्ने मागलाई समर्थन गर्ने अनि यस प्रदर्शनलाई बाहिरबाट समर्थन गर्ने भएका छन्। भारतीय किसान यूनियन (भाकियू) प्रवक्ता राकेश टिकैत र संयुक्त किसान मोर्चाका बलदेव सिंह सहित अन्य किसान नेताहरूले आइतवार जन्तर मन्तरमा धरना प्रदर्शनमा बसेका पहलवानहरूसँग भेट गरे। त्यहाँ उपस्थित पत्रकारहरूसँग कुराकानीको क्रममा उनीहरूले हरेक खापका सदस्य प्रत्येक दिन धरना स्थलमा बिहानदेखि साँझसम्म रहने तर पहलवानहरूका धरना प्रदर्शनमा सीधा रूपमा सामेल नहुने बताए। यसबीच प्रदर्शनकारी पहलवानहरूलाई सल्लाह दिने समितिले डब्ल्यूएफआई अध्यक्ष बृजभूषण सिंहलाई पक्राउ गर्नको निम्ति २१ मईसम्मको अल्टीमेटम दिँदै त्यसपछि समितिले केही महत्त्वपूर्ण फसेला गर्ने बतायो। यसबीच धरना स्थलमा सतर्कता स्वरूप भारी संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ। किसान नेताहरूले बताएअनुसार, उनीहरूका संगठन पहलवानहरूलाई हरसम्भव सहायता गर्न तयार छ। यो खेल अनि खेलाड़ीहरूका सम्मानको कुरा हो। यसको राजनैतिक अर्थ लगाउनु हुँदैन। किसान नेताहरूले सरकारसँग डब्ल्यूएफआई प्रमुखलाई झट्टै पक्राउ गर्ने पहलवानहरूको माग स्वीकार गर्नु भने।










