गान्तोक: बजारमा दूधको माग ह्वात्तै बढेपछि उत्पन्न आपूर्ति संकटलाई सम्बोधन गर्न द सिक्किम कोअपरेटिभ मिल्क प्रोड्युसर्स युनियन लिमिटेड (एससीएमयू) ले ताजा दूधको बिक्रीमा प्रतिव्यक्ति अधिकतम २ लिटरको सीमा (क्यापिङ) निर्धारण गरेको छ।
मिल्क युनियनले आफ्ना दर्ता भई सञ्चालनमा रहेका दूध बिक्री एजेन्सीहरूमाझ व्यापक अनुगमन तथा निरीक्षण अभियान सञ्चालन गर्ने जनाएको छ। बजारमा माग र आपूर्तिबीचको सन्तुलन मिलाउन तथा कालाबजारी रोक्नका लागि यो कदम चालिएको युनियनले स्पष्ट पारेको छ।
युनियनका अनुसार बढेको मागका कारण उपभोक्ताहरूले सहजरूपमा दूध पाउन सकून् भन्ने उद्देश्यले निश्चित परिमाण तोकिएको हो। एजेन्सीहरूले तोकिएको मापदण्ड पालना गरे/नगरेको सुनिश्चित गर्न बजार निरीक्षणलाई तीव्रता दिइने बताइएको छ।





