नाम्ची: नाम्ची जिल्ला अन्तर्गत जिल्ला विकास समन्वय तथा अनुगमन समिति (दिशा) को २०२५ को पहिलो त्रैमासिक बैठक आज लोकसभा सांसद तथा दिशाका अध्यक्ष डा. इन्द्रहाङ सुब्बाकाे अध्यक्षतामा नाम्चीको टाउन हलमा सम्पन्न भयो।
यस बैठकमा विधानसभा उपाध्यक्ष राजकुमारी थापा, विधायक सतीशचन्द्र राई, विधायक रिक्सल दोर्जी भोटिया, विधायक मदन सिन्चुरी, नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
सांसद डा. इन्द्रहाङ सुब्बाले आफ्नो सम्बोधनमा नाम्चीको उत्कृष्ट पूर्वाधारलाई प्रकाश पार्दै यसलाई सिक्किमकै उत्कृष्ट बताए। उनले राजस्व उत्पन्न गर्न राज्य सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिए। यसका साथै, उनले अनुप्रवेश अनुगमन र श्रम दर्ता समितिको बारेमा बताउॅंदै यसको उचित कार्यान्वयनले सिक्किमका जनतालाई नै फाइदा पुग्ने बताए।
उनले जनप्रतिनिधि र प्रशासनिक अधिकारीहरूबीच उचित समन्वय आवश्यक रहेको बताउॅंदै पारदर्शिता र दक्षतामा जोड दिए। सांसद सुब्बाले दिशा बैठकहरूले योजनाहरूको व्याख्या गर्नुको सट्टा ब्लक-स्तरमा चलिरहेका कार्यक्रमहरू र योजनाहरूको प्रतिवेदन प्रस्तुत गर्नमा केन्द्रित हुनुपर्ने सुझाउ दिए।
जिल्लापाल अनुपा ताम्लिङले केन्द्रिय प्रायोजित योजनाहरूको बारेमा संक्षिप्त जानकारी दिइन्, जसमा नाम्ची जिल्लामा यसको कार्यान्वयन, प्रगति र भविष्यमा विकासको सम्भावना सामेल थियो। उनले जिल्लाको कम प्रजनन दरमाथि प्रकाश पार्दै २०११ देखि २०२४ सम्म जनसंख्या २,६१४ बढेको जानकारी गराइन्।
यसैगरी, जिल्लामा आत्महत्याको दर पनि उच्च रहेको अवगत गराउॅंदै मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम सुधार गर्ने उद्देश्यले सिक्किम इन्स्पायर्स अन्तर्गत ध्वजवाहक हस्तक्षेप कार्यक्रमको लागि नाम्चीलाई छनोट गरिएको उनले बताइन्।











