मंगन: उत्तर सिक्किमको जङ्गु क्षेत्रअन्तर्गत पासिङ्गदाङमा खण्डस्तरीय अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो। कार्यक्रमको आयोजना सिक्किम सरकारको योजना अनि विकास विभागअन्तर्गत सिक्किम इन्सपायर्स परियोजनाअन्तर्गत गरिएको थियो। पासिङ्गदाङ खण्ड प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित कार्यक्रममा मंगन जिल्लाकी उपाध्यक्ष सोनाम किपा भोटिया मुख्य अतिथि रहेकी थिइन् भने महिला आयोगकी पूर्व अध्यक्षा श्रीमती छुङ्किपु लेप्चा र लिङ्गतेम जुनियर हाइस्कूलकी प्रधान अध्यापिका श्रीमती जेजे लेप्चा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
अन्तर्राष्ट्रिय महिला दिवसको खुशियालीमा केक काटेर आरम्भ गरिएको कार्यक्रममा स्थानीय महिलाहरूलाई लिएर सिर्जनात्मक लेखन साथै सिर्जनात्मक कला अनि शिल्प प्रदर्शनी प्रतियोगिताहरू आयोजना गरिएको थियो। यसको साथै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गर्ने महिलाहरूलाई सम्मान पनि जनाइयो जसमा श्रीमती सोनाम किपा भोटिया, श्रीमती छोङ्गकिपु भोटिया, श्रीमती जेजे लेप्चा र रिनामित लेप्चा रहेका छन्। दिनका अन्य प्रमुख कार्यक्रमहरूमा महिलाहरूलाई लिएर योगा, जुम्बा आदि रहेको थियो।











