दार्जिलिङ: दार्जीलिङ हिल्स युनिभर्सिटीका शिक्षण एवं गैर-शिक्षण कर्मचारीहरूका प्रतिनिधि टोलीले सोमवार दार्जिलिङका विधायक नोमन राईसँग भेट गरेका छन्। स्थापनाकालदेखि नै विश्वविद्यालयको स्टैचुट्स् (परिनियम) विचाराधीन अवस्थामा रहेको कारण विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक क्रियाकलापमा वाधा भइरहेको जानकारी गराउँदै त्यस कामलाई अघि बढ़ाइदिने प्रतिनिधि टोलीले विधायक नोमन राईलाई ज्ञापन चढ़ाएका छन्। दार्जीलिङ हिल्स युनिभर्सिटी पहाड़का शैक्षिक विकासका निम्ति एउटा ठूलो उपलब्धि हो। पहाड़मा दार्जीलिङ पार्वत्य विश्वविद्यालयको अस्तित्व हुनु भनेको पहाड़को निम्ति शैक्षिक, भाषिक, भौगलिक तथा सांस्कृतिक विकास साथै पहाड़ले शिक्षाको क्षेत्रमा नयाँ गोरेटो कोर्नु हो। त्यसर्थ प्रतिनिधिहरूले दार्जीलिङ हिल्स युनिभर्सिटीमा स्नातक, डिप्लोमा र प्रमाणपत्र पाठ्यक्रमहरू चाँडोभन्दा चाँडो सुरु गर्न आवश्यक रहेको विषय पनि विधायक समक्ष राखेका छन्। दार्जिलिङ हिल्स युनिभर्सिटीको प्रगति, विकास र समाधानलाई प्राथमिकतामा राखेका युनिभर्सिटीका कूलपति, कूलपति सचिव, ओसएडि तथा सबै शिक्षक अनि अशिक्षण कर्मचारी लगातार रूपमा निरन्तर कार्य र प्रयास गरिरहेका छन् भन्ने कुरा पनि विधायक समक्ष राखे। विधायक नोमन राईले यस विषयहरू गम्भीरतापूर्वक सुनेको अनि यस विषयलाई आगामी दिनहरूमा सकारात्मक रूपमा पहल गर्ने वचन दिएको जानकारी प्राप्त भएको छ।










