विज्ञहरू भन्छन्: ‘दुई देशबिचको सम्बन्धमा अझै तिक्तता कायम’
ढाका: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको प्रस्तावित भारत भ्रमण रद्द भएपछि भारत र बंगलादेशबिचको कूटनीतिक सम्बन्धलाई लिएर पुनः चर्चा सुरु भएको छ।
ढाकास्थित बंगलादेशी अधिकारीहरूले गत साता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको सङ्केत दिएका थिए। भारतीय सञ्चारमाध्यमहरूले पनि तारिक रहमान आगामी साताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने सम्भावना व्यक्त गरेका थिए। यस कदमबाट दुई देशबिचको बिग्रिएको सम्बन्ध सुधारको दिशामा अघि बढ्ने अपेक्षा गरिएको थियो।
तर, भ्रमण रद्द भएसँगै कूटनीतिक विज्ञहरूले दुवै देशबिचको सम्बन्धमा अझै पनि तिक्तता र अविश्वास कायम रहेको विश्लेषण गरेका छन्।
भ्रमण रद्दबारे आधिकारिक जानकारी दिँदै बंगलादेशको परराष्ट्र मन्त्रालयले भ्रमणका लागि पहिले “अनुकूल वातावरण निर्माण हुनु आवश्यक रहेको” स्पष्ट पारेको छ।











