घट भनेको गाग्री वा घड़ा वा मन वा हृदय हो। नौरथाको पहिलो दिन घट स्थापना गरिन्छ। नदीबाट ल्याएको बालुवाले बनाएको वेदीमा भगवती पूजा स्थल राखिन्छ। विधिपूर्वक घड़ामा पानी भरेर राखिन्छ। यसो गर्नुको तात्पर्य हृदय भक्तिमा भिज्नु हो। यसरी घटस्थापना गरेर टपरी वा गमलामा जमरा रोप्ने गरिन्छ। तब शक्तिकी प्रतीक दुर्गा देवीको पूजा थालिन्छ। जमरा राख्ने चलन गोर्खाबाहेक अरू हिन्दूमा पाइँदैन।
संसारकै पहिलो अन्न जौको वैज्ञानिक नाम होर्डियम वल्गारे हो। ल्याटिन वल्गारे अङ्ग्रेजीमा बार्ली बन्यो। घाँस परिवारको एउटा सदस्य जौ विश्व स्तरमा समशीतोष्ण जलवायुमा उमारिने एउटा प्रमुख अन्न हो। विशेष गरी यूरेशियातिर १०,००० वर्षअघि सबैभन्दा पहिले खेती गरिएका अन्नमध्ये जौ पनि एउटा भएको प्रमाण छ। पाषाण (Paleolithic) युगका जाँतो पनि उत्खननमा पाएको र त्यहाँ जौका अवशेष थाहा लागेको उल्लेख छ। अहिलेभन्दा ५७००-३३०० वर्षपूर्व नवपाषाणोत्तर कास्य युगीन हड़प्पा सभ्यतामा पनि जौ खेतीका प्रमाण पाइएका छन्। यस दृष्टिले घरेलू जौ मूल रूपले मध्य एशियादेखि भारत, फारस, मेसोपोटामिया, सीरिया र मिस्रसम्म फैलिएको बुझिन्छ। वेदले पनि जौबारे कुरा गरेको वेदविज्ञहरूले जनाएका छन्।
विश्व स्तरमा जौ उत्पादनको ७० प्रतिशत पशु चारोका रूपमा उपयोग गरिने अनि ३० प्रतिशत बीयर र अरू केही आसुत पेय पदार्थका लागि किण्वित सामग्रीको स्रोतका रूपमा तथा विभिन्न खाद्य पदार्थको एउटा घटकका रूपमा उपयोग गरिने थाहा लाग्दछ। यसको उपयोग सिरुवा (सूप) र ढकने (स्ट्यू) बनाइखाने अनि विभिन्न समाजमा जौको रोटी खाने गरेको पाइन्छ। जौका दानालाई सामान्यत: पारम्परिक र लोक विधिले छिप्पाउने अर्थात् माल्ट गरिएको पनि पाइन्छ। नेपालीभाषी समाजमा जमरा रोप्नु, उम्रनु दिनु, सिहुरिनु भनेको शक्तिले विकास सञ्चालित हुनुको प्रमाणको प्रतीक हो। अचेल गहुँको टुसालाई wheat grass भनेर यसमा भएभरको शक्ति रहने विज्ञापन गरिएको देखिन्छ। यसले मुटु कलेजो मिर्गौला ठीक हुन्छ भन्छन्। डेङ्गु मलेरिया लागेमा गहुँ, जौ वा मेवाको टुसा चपाएर रस निल्ने सुझाउ दिइन्छ। जमरामा चाहिँ धेर जौ प्रयोग गरिन्छ। जौलाई सृष्टिको पहिलो र श्रेष्ठ अन्न मानिन्छ। जौलाई संस्कृतमा यव भनिन्छ। नौरथामा जौको आँकुराको महत्त्व अधिक हुन्छ।
पहलमानले टुसा लागेको चना-मटर खाए अझ बलियो हुने ठान्छन्। टुसा शक्तिको प्रतीक हुनाले दसैँमा जमरा राखिने गरिएको हो। नौ रात्रिसम्म पूजा गरेर दसौँ दिन बिहान टीका-प्रसाद ग्रहण गर्नाका साथै जमरा सिहुरिइन्छ। उब्रेका अङ्कुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ। जौका जमरालाई महौषधि भनिएको छ। निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट जोगिन सकिन्छ भनिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ। विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन्। अङ्कुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ। स्वास्थ्यको लागि अति उत्तम मानिन्छ। नाप्नै नसक्ने कैञौ भोल्टको भगवतीको ऊर्जाबाट जमराले केही भोल्ट पावर त कन्जुम गरेकै हुन्छ। त्यो पावर बढाउँदैलाने आसिकसित परिवारका वरिष्ठ सदस्यले दक्षिणास्वरूप जमरा पनि दिने गर्दछन्।
जमरा शब्दको व्युत्पत्ति यम कि यव शब्दबाट भएको तथ्य पाइन्छ। संस्कृतमा जौलाई यव भनिन्छ। यम भनेको अनुशासन हो। यवलाई यमको प्रतीक मानिन्छ। योगका आठवटा खुड़्किलामा पहिलो खुड़्किलो हो यम। त्यसपछि मात्र नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। जीवन यममय अर्थात् अनुशासित होस् भन्ने संकेत पनि हो जमरा। जौको आँकुरालाई जमरा भनियो:
यव – जव – जम – जौ + आँकुरा = जमरा।
जमरामा सप्तधान्य उमार्ने चलन छ। धान्य भनेको धान आदि अन्न हुन्। जौसहित सातवटा अन्न उमार्दा जौको मात्रा धेर राखिन्छ। अरू अन्न नपाइए पनि जौचाहिँ हुनैपर्छ भनिन्छ। वास्तवमा जौका आँकुरालाई जमरा भनिएको हो। जातीय चाड़पर्व कृषिसितै सम्पर्कित छन्। रोपाई आदि श्रमसाध्य काम सकेपछि वा धानको बाली उठाइसकेपछि सञ्चो भएर दसैंलाई उत्सवी बनाउने गरिन्छ। तैत्तिरीय उपनिषद्को भृगुवल्लीले अन्नलाई ब्रह्मसम्म मानेको छ, यथा– ‘अन्नं ब्रह्मेति व्यजानात्’ (अन्नलाई ब्रह्म जान्नू) । ‘अन्नं न निन्द्यात्’ (अन्नलाई निन्दा नगर्नु) पनि भनिएको छ। एमोबा हाइड्राजस्ता एककोशीय प्राणी त अन्न पाए बाँच्छ, नत्र मर्छ। तिनीहरूमा प्राणमय र मनोमय कोश नभए पनि अन्नमय कोशचाहिँ हुन्छ। विज्ञानमय र आनन्दमय कोशसम्म वहन गर्नसक्ने मान्छेले अन्नलाई कसरी बिर्सन सक्दछन्! अन्नलाई आदर गर्न सिकाउन अन्नका आँकुरा जमरा शिरमा लगाउने र अन्नकै टीका निधारमा टाँस्ने गरिएको हो।










