दार्जीलिङका तीन धावक असम लिङ्जे पुग्ने
गान्तोक: मायाल्मु सेल्टर होमको पहलमा परमपावन १४औं दलाई लामाको ९१औं जन्मोत्सवको पावन अवसरमा ‘करुणाका लागि दौड़’ (रन फर कम्पेसन) म्याराथन अनि बिरुवा रोपण कार्यक्रम आयोजन गरिने भएको छ। उक्त भव्य कार्यक्रम आगामी ५ जुलाईका दिन पाकिम जिल्ला अन्तर्गत पर्ने असम लिङ्जेमा सम्पन्न गरिने निर्णय लिइएको छ।
आज राजधानी गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मायाल्मु सेल्टर होमका प्रभारी छोदक भोटियाले उक्त जानकारी गराएका हुन्। उनले भने, ‘परमपावन १४औं दलाई लामाको ९१औं जन्मोत्सवलाई ध्यानमा राख्दै मायाल्मु होमले पहिलो पल्ट यस प्रकारको म्याराथन आयोजन गर्ने जमर्को गरेको हो।’ यस कार्यक्रमलाई सफल पार्न संस्थाले छाङ्गु अल्ट्रा अनि एसबीआई (SBI) सेवाको प्राविधिक सहयोगका साथै विभिन्न प्रायोजकहरू (स्पोन्सर) बाट पनि सर-सहयोग प्राप्त गरिरहेको उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा उपस्थित टिम छाङ्गु अल्ट्रा रनकी प्रतिनिधि भारती गुरुङले दौड़ प्रतियोगिताको प्राविधिक पक्षबारे प्रकाश पारिन्। उनका अनुसार, धेरैभन्दा धेरै उत्साही युवा अनि धावकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले मात्र ५ किलोमिटरको दौड़ राख्ने निर्णय गरिएको हो। यस दौड़लाई जम्मा तीनवटा श्रेणीमा विभाजन गरिएको छ— खुल्ला (ओपन), ५० प्लस (५० वर्षभन्दा माथि) अनि विद्यार्थी श्रेणी।
पुरस्कारहरूबारे जानकारी दिँदै उनले भनिन्, ‘खुल्ला श्रेणीमा प्रथम पाँच जना, ५० प्लस श्रेणीमा तीन जना अनि १५ वर्षभन्दा कम उमेरका विद्यार्थी श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक नगद पुरस्कारद्वारा पुरस्कृत गरिनेछ। यसका साथै दौड़ पूरा गर्ने सबै प्रतिभागीहरूलाई मेडल प्रदान गरिनेछ।’ यस प्रतियोगिताको कुल पुरस्कार राशि ६५ हजार रूपियॉं निर्धारण गरिएको छ।
यस कार्यक्रमको एउटा मुख्य आकर्षण दार्जीलिङका धावकहरू रहने भएका छन्। आगामी ५ जुलाईको बिहानै दार्जीलिङबाट तीन जना धावकहरू दौडिएर असम लिङ्जेसम्म आइपुग्ने जानकारी गराइएको छ। असम लिङ्जे पुगेपछि ती धावकहरूलाई कार्यक्रमको मञ्चमा विशेष रूपले अभिनन्दन अनि सम्मानित गरिने बताइएको छ।
प्रतियोगितामा भाग लिनका लागि हालसम्म २३२ जना धावकहरूले आफ्नो नाम दर्ता (पञ्जीकरण) गराईसकेका छन्। इच्छुक व्यक्तिहरूले अझै पनि मायाल्मु सेल्टर होमको आधिकारिक फेसबुक पेजमा गएर अनलाइन नाम दर्ता गर्न सक्ने आव्हान गरिएको छ।
यसै क्रममा, परमपावन दलाई लामाको जन्मोत्सवको मूल दिन अर्थात् ६ जुलाईका दिन संस्थाद्वारा पर्यावरण संरक्षणलाई ध्यानमा राख्दै असम लिङ्जे क्षेत्रमा व्यापक रूपमा बिरुवा रोपण (वृक्षरोपण) कार्यक्रम गरिने पनि संस्थाका तर्फबाट जानकारी गराइएको छ।











