एसडीएफद्वारा मानेबुङ देन्ताममा क्षेत्रस्तरीय सभा सम्पन्न; नयाँ समितिहरू गठन

FB_IMG_1781370023394

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत पर्ने मानेबुङ देन्ताममा एक महत्वपूर्ण क्षेत्रस्तरीय सभाको आयोजना गऱ्यो। पार्टीको साङ्गठनिक सुदृढीकरण अनि श्रृङ्खलाबद्ध रूपमा समिति गठन गर्ने पूर्व-निर्धारित कार्यक्रम अन्तर्गत नै उक्त सभा डाकिएको हो, जसको अध्यक्षता वरिष्ठ नेता टीआर छेत्रीले गरेका थिए।
​क्षेत्रका स्थानीय कार्यकर्ता तथा एसडीएफ समर्थकहरूको बाक्लो उपस्थितिमाझ सम्पन्न भएको उक्त सभामा सर्वसम्मतिले क्षेत्रस्तरीय समिति गठन गरिएको जानकारी पार्टीका प्रचार-प्रसार उपाध्यक्ष अम्बर राईले आज एक प्रेस विज्ञप्ति मार्फत गराएका छन्। नवगठित क्षेत्रस्तरीय समितिमा उपाध्यक्षको जिम्मेवारी सुकराज राईलाई सुम्पिइएको छ भने युवा प्रभारीको रूपमा सन्दिप राई, उपप्रभारीमा सुरेन गुरूङ अनि सल्लाहकारहरूमा सुकमित लेप्चा र भीमबहादुर लिम्बू चुनिएका छन्।
​यसै गरी, साङ्गठनिक विस्तारलाई अझ तल्लो तहसम्म पुऱ्याउने उद्देश्यका साथ सोम गाउँमा वार्डस्तरीय समितिको पनि गठन गरियो। यस वार्ड समितिमा अध्यक्षको भार सोमबहादुर लिम्बूले पाएका छन् भने चेली संयोजिकामा निर्मला अधिकारी, चेली उपसंयोजिकामा दावाफुटी शेर्पा र सहसचिवमा रामबहादुर राई चयन भएका छन्।

पार्टी नेतृत्वले जनाए अनुसार, एसडीएफ सधैँ सिक्किमे जनतालाई न्याय दिलाउन र वर्तमान व्यवस्थाको अत्याचारबाट मुक्ति दिलाउन कम्मर कसेर लागेको छ। जन-जनको यही आवाजलाई घर-घरसम्म पुऱ्याउन र सङ्गठनलाई भुइँतहदेखि नै मजबुत बनाउनका निम्ति देन्ताम क्षेत्रमा यो नयाँ कार्यसमिति गठन गरिएको पार्टी पक्षले विशेष जोड दिएको छ।

About Author

Advertisement