असम: ‘चन्द्र र सूर्य रहुञ्जेल असमिया भाषा जीवित रहन्छ’: मुख्यमन्त्री सरमा

Screenshot_20260613_224417_Facebook

गुवाहाटि: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले असमिया भाषा र राज्यको सांस्कृतिक पहिचानका विषयमा महत्त्वपूर्ण टिप्पणी गरेका छन्। शनिबार दिसपुरस्थित लोकभवनमा आयोजित क्याबिनेट बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आकाशमा चन्द्र र सूर्य रहुञ्जेलसम्म असमिया भाषा जीवित रहने दाबी गरे।
​मुख्यमन्त्री सरमाले असमलाई माया गर्ने सम्पूर्ण नागरिकहरूलाई आगामी जनगणनामा आफ्नो मातृभाषाको रूपमा ‘असमिया’ दर्ता गराउन आग्रह गरे। यद्यपि, घरमा असमिया भाषाको प्रयोग नगर्ने तर जनगणनामा मात्रै असमिया लेख्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो।
​”चार-चापोरी परिषद्ले जनगणनामा कुन भाषा लेख्ने भनेर सिकाइरहनु आवश्यक छैन,” मुख्यमन्त्री सरमाले भने, “नागरिकहरूले आफ्नो वास्तविक पहिचानका आधारमा भाषाको चयन गर्नुपर्छ।”
​यसै गरी, मुख्यमन्त्री सरमाले राज्यको मुख्य समस्या ‘ल्याण्ड जिहाद’ र ‘लभ जिहाद’ भएको उल्लेख गर्दै कुनै पनि असमिया समाजलाई कमजोर ठान्न नहुनेमा जोड दिए। असमिया भाषा, जनसाङ्ख्यिकीय मुद्दा र राज्यको अस्मितासँग जोडिएका विषयहरूमाथि केन्द्रित हुँदै उनले उक्त कुरा बताएका हुन्।

About Author

Advertisement