सिलिगुडी: दार्जिलिङका लोकसभा सदस्य (सांसद) राजु विष्टले विश्वकै सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही, पद्म विभूषण तेन्जिङ नोर्गे शेर्पाको जन्मजयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सांसद विष्टले शेर्पालाई साहस, दृढ संकल्प र अदम्य इच्छाशक्तिको प्रतीकका रूपमा स्मरण गर्नुभएको हो। सन् १९५३ मा एडमन्ड हिलारीसँगै सगरमाथाको सफल आरोहण गरेर तेन्जिङ नोर्गेले हिमाली क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा अद्वितीय पहिचान दिलाएको विष्टले उल्लेख गर्नुभएको छ।
”तेन्जिङ नोर्गेज्यूको जीवन सङ्घर्ष, समर्पण र उपलब्धिले आज पनि लाखौँ युवाहरूलाई आफ्नो लक्ष्यमा अघि बढ्न प्रेरणा प्रदान गरिरहेको छ,” सांसद विष्टले भन्नुभएको छ।
हिमालयका गौरव तथा सम्पूर्ण राष्ट्रका प्रेरणास्रोतका रूपमा रहेका शेर्पाको ऐतिहासिक योगदान पर्वतारोहणको क्षेत्रमा र आम जनमानसमा सदैव स्मरणीय रहने विष्टले बताउनुभएको छ। सन् १९१४ मे २९ मा जन्मनुभएका शेर्पाको जन्मजयन्तीलाई दार्जिलिङ लगायत विश्वभरका पर्वतारोहण प्रेमीहरूले विशेष दिनका रूपमा मनाउने गर्छन्।











