लाचेन सडक सञ्जाल समस्या: साउनभित्र अस्थायी मर्मत गरिसक्न सेनालाई मुख्यमन्त्रीको आग्रह, सुरुङमार्गको सम्भाव्यता पनि अध्ययन गरिने

FB_IMG_1780070183735

गान्तोक: उत्तर सिक्किमको लाचेन क्षेत्रलाई जोड्ने सडक सञ्जालको समस्या समाधानका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को अध्यक्षतामा बिहीबार ‘सम्मान भवन’ मा एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा लाचेन झुम्साका प्रतिनिधि (पिापोन्स) र स्थानीय बासिन्द साहसहित सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति थियो।
​सडकको दुरावस्थाका कारण रैथाने बासिन्दाले भोग्नुपरेको सास्ती, राष्ट्रिय सुरक्षा र पर्यटन क्षेत्रमा परेको असरबारे बैठकमा विस्तृत छलफल भएको थियो।
​छलफलपछि सरोकारवाला सबै पक्षको सहमतिमा मुख्यमन्त्री तामाङले भारतीय सेना र सीमा सडक संगठन (बीआरओ) अन्तर्गतको ‘प्रोजेक्ट स्वास्तिक’ लाई आगामी जुलाई १५ भित्र अस्थायी सडक पुनर्निर्माण तथा मर्मतको काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ।
​उच्चस्तरीय समिति गठन र सुरुङमार्गको विकल्प
लाचेन सडकको दीर्घकालीन र दिगो समाधान पहिल्याउन एक उच्चस्तरीय समिति गठन गर्न समेत निर्देशन दिइएको छ। उक्त समितिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी प्राविधिक प्रतिवेदन बुझाउनेछ। प्राविधिक रूपमा उपयुक्त र विज्ञहरूको सिफारिस भएमा आगामी दिनमा उक्त क्षेत्रमा सुरुङमार्ग (टनेल) निर्माणको प्रस्तावमाथि समेत अध्ययन अघि बढाइने मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ।
​मुख्यमन्त्री तामाङले लाचेनवासीलाई आश्वस्त पार्दै भन्नुभएको छ, “लाचेनको सडक सञ्जालको मुद्दालाई राज्य सरकारले अत्यन्तै गम्भीरता र प्राथमिकताका साथ हेरिरहेको छ। यो केवल स्थानीय जनताको आवतजावतसँग मात्र जोडिएको विषय नभई राष्ट्रिय सुरक्षा र सिक्किमको पर्यटनको संवेदनशीलतासँग समेत जोडिएको छ।”

यस सम्बन्धमा आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर ध्यानाकर्षण गराइसकेको र चाँडै नै केन्द्रीय रक्षामन्त्रीसँग व्यक्तिगत रूपमा भेटेर थप पहल गर्ने प्रतिबद्धता समेत मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ।
​बैठकमा विभागीय मन्त्रीहरू, सम्बन्धित क्षेत्रका विधायक, मुख्य सचिव, बीआरओका वरिष्ठ अधिकारी, २७ माउन्टेन डिभिजनका सैन्य अधिकारी, मंगनका जिल्लापाल (डीसी) तथा प्रहरी उपरीक्षक (एसपी) र चुङथाङका महकुमा अधिकारी (एसडीएम) लगायतको उपस्थिति थियो।

About Author

Advertisement