खरसाङ: खरसाङ विधानसभा समष्टि अन्तर्गत तीनधारे महानदी समष्टिको २२ वटा बुथहरुमा १५ वटा बुथहरुमा भारतीय जनता पार्टीको र सातवटा बुथहरुमा भागोप्रमोको जीत भएको छ।बंगाल विधानसभा चुनाउ २०२६ मा बंगालमा भाजपाको सरकार बनिनुको साथै पहाडको तीनवटा विधानसभा सिटहरुमा भारतीय जनता पार्टीको उम्मेद्वारहरुले जितेको छ। यसै क्रममा खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले पनि आफ्नो जीत हाँसिल गरेर खरसाङका विधायकको रुपमा निर्वाचित भएका छन्। खरसाङ विधानसभा समष्टि अन्तर्गत तीनधारे महानदी समष्टिको अधिकांश बुथहरुमा पनि जीत हाँसिल गरेका छन्। खरसाङ विधानसभा समष्टिमा यसपाली सातजना उम्मेद्वारहरु चुनाउ मैदानमा उत्रिएका भए पनि अन्य ठाउँमा जस्तै तीनधारे महानदी समष्टिमा पनि विशेष गरेर भारतीय जनता पार्टी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमाझ त्रिकोणात्मक प्रतिस्पर्धा नै देखिएको छ तीनधारे महानदी समष्टिको जम्मा २२ वटा बुथहरुमध्ये सत्तामा रहेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले केवल सातवटा बुथहरुमा मात्र बिजय हाँसिल गरेका छन् भने अन्य सबै १५ वटा बुथहरुमा नै भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले जीत हाँसिल गरेका छन्। तीनधारे महानदी समष्टिको २२ वटा बुथहरुमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले जीत हाँसिल गरेका सातवटा बुथहरुमा जंगपाना, सिमरिङ, गिताङ्गे, सिविटार (शारदा प्राथमिक पाठशालाको बुथ), तीनधारे चियाबारी, नरबुङ र नयाँ कमान रहेका छन्। यी बुथहरुमा पनि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टकी उम्मेद्वार बन्दना राईले निक्कै भोट पाएको कारण भाजपा प्रार्थी सोनाम लामाको भन्दा भागोप्रमो प्रार्थी अमर लामाले बेसी भोट पाएका छन्। यसमा पनि नरबुङ चियाबारीको बुथमा केवल २ भोटले अमर लामा बिजय भएका छन्। यसको साथै अमर लामाले अधिक मतले जितेको बुथमा सिविटार चियाबारीको शारदा प्राथमिक पाठशालाको बुथमा जितेका छन्। यस बुथमा सोनाम लामाले केवल ९८ भोट पाएका छन् भने अमर लामाले २५१ भोट पाएका छन् जसमा १५३ भोटले जितेका छन्। तीनधारे महानदी समष्टिको केवल ७ वटा चियाबारीहरुको बुथमा मात्र अमर लामाको जीत भएका छन् भने महानदी, घैयाबारी, तीनधारे क्षेत्रमा सोनाम लामाले आरामले जीत हाँसिल गरेका छन्। यसको साथै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको उम्मेद्वार बन्दना राईले पनि तीनधारे महानदी समष्टिको हरेक बुथमा तेस्रो स्थानमा रहेर मत प्राप्त गरेका छन्। जुन बुथमा बन्दना राईले अधिक भोट पाएका छन् त्यसमा मात्रै अमर लामा बिजय भएका छन् भने अन्य सबै बुथहरुमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाले जीत हाँसिल गरेका छन्। खरसाङ विधानसभा समष्टिमा भारतीय जनता पार्टीको उम्मेद्वार सोनाम लामाको जीत भएपछि साथै तीनधारे महानदी समष्टिको २२ वटै बुथहरुमध्ये १५ वटा बुथहरुमा र केवल ७ वटा बुथहरुमा मात्रै अमर लामाले जीत हाँसिल गरेकोले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले यो जनताले हालेको भोट हो र जनताले दिएको जनादेशलाई स्वीकार गरेको बताएका छन्। उनले आफ्नो पार्टीको उम्मेद्वारलाई भोट हाल्ने सम्पूर्ण जनतालाई धन्यवाद दिएका छन् भने अरु उम्मेद्वारहरुलाई भोट दिने जनतालाई पनि धन्यवाद दिएका छन्। समष्टि सभापति राजीव थापाले भने, चुनाउ हो, हार जीत त हुन्छ नै। तर तीनधारे महानदी समष्टिमा भोट हारे पनि मन हारेको छैन। यात्रा अझैं लामो छ। संगठन अझ तेज भएर अघि जानेछ।’
उनले केही दिनमा पार्टीको समष्टि स्तरीय सभा आयोजना गरेर चुनावको समीक्षा गरिने बताएका छन्।









