तीनधारेमा ऱ्याली र सम्वर्द्धना कार्यक्रमको साथमा नेपाली भाषा मान्यता दिवस सामरोह सम्पन्न

IMG-20260820-WA0196

खरसाङ: तीनधारेमा ऱ्याली र सम्वर्द्धना कार्यक्रमको साथमा नेपाली भाषा मान्यता दिवस सामरोह सम्पन्न भएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा तीनधारेमा नेपाली भाषा मान्यता दिवस ऱ्याली र साहित्यिक कार्यक्रमको साथमा आयोजना गरिएको छ। तीनधारेमा सम्पन्न भएको नेपाली भाषा मान्यता दिवसको पहिलो चरणमा तीनधारेको रेलवे कारखानादेखि राष्ट्रिय राजमार्ग ११० हुँदै बजार भएर ब्लु डाईमण्ड अंग्रेजी स्कूल परिसरसम्म ऱ्यालीको आयोजना गरिएको थियो। उक्त ऱ्यालीमा तीनधारे क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरु, शिक्षक शिक्षिकाहरु, विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, कलाकारहरु, साहित्यकारहरु उपस्थित रहेका थिए।

उक्त ऱ्यालीमा नेपाली भाषाको प्रयोग, संरक्षण र नेपाली भाषालाई माया गर्नु पर्ने जस्ता विषयमा विद्यार्थीहरुले विभिन्न प्लाकार्डहरह लिएर सहभागिता जनाएका थिए‌। उक्त ऱ्यालीपछि तीनधारेको महात्मा गान्धी हलमा साहित्यिक कार्यक्रमको साथमा ३५औं नेपाली भाषा मान्यता दिवस सामरोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता गौरव मञ्च तीनधारेको सभापति महेश सेवाको अध्यक्षतामा र तीनधारेका आध्यात्मिक व्यक्तित्व एंव वरिष्ठ समाजसेवी बिजय मंगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। शिक्षक एंव साहित्यकार युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण गौरव मञ्च तीनधारेको सचिव सुप्रेम छेत्रीले राखेका थिए। कार्यक्रममा स्वागत नृत्य झंकार नृत्य कुञ्ज तीनधारे शाखाद्वारा प्रस्तुत गरिएको थियो भने रेणुका कन्या उच्च माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय र तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरुले पनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा गायकद्वय कर्म मोक्तान र महेश सेवाले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा कविहरु क्रमैेले मिलन प्रधान, देवेन मंगर, सुवास बान्तावा, मञ्जु शर्मा, सूर्यमान राई आदिले कविता वाचन गरेका थिए। यसै कार्यक्रममा नेपाली भाषा मान्यताको आन्दोलनमा योगदान तीनधारेका दुई भाषा संग्रामीहरु राजु प्रधान र किशोरचन्द्र लोहारलाई सम्वर्ध्दना जनाइएको छ। दुवैले नेपाली भाषा मान्यताको आन्दोलनमा कोलकातामा पुगेर भोक हडतालमा सहभागी जनाएका थिए। यस अवसरमा दुवैलाई सभाध्यक्ष, प्रमुख अतिथि र गौरव मञ्च तीनधारेको तर्फबाट खदार्पणसहित शिर शोभा, शल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्वर्ध्दना जनाइएको छ।

यस अवसरमा दुवैले नेपाली भाषा मान्यताको आन्दोलनको अनुभवहरु सेयर गरेका थिए। कार्यक्रममा तीनधारेका कन्टेन्ट क्रियटर सञ्जय राई र उनको टिमलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बिजय मंगर र सभाध्यक्ष महेश सेवाले वक्तव्य राखेका थिए। नेपाली भाषा मान्यता दिवसको अवसरमा तीनधारेमा आयोजित ऱ्याली र साहित्यिक कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गौरव मञ्च तीनधारेका सचिव सुप्रेम छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement