खरसाङ: खरसाङको माथिल्लो सिरुबारी तामाङ संस्थाको आयोजनामा माथिल्लो सिरुबारी तथा वरिपरिका क्षेत्रका बासिन्दाहरूलाई लिएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविर गिध्द पहाडदमथित डीआरसी हल, गौतम ग्यारेज नजिक, माथिल्लो सिरुबारीमा सम्पन्न भएको छ। ‘तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता” भन्ने मूल भावनाका साथ आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायलाई सहज रूपमा स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।;कार्यक्रममा तामाङ संस्थाका अध्यक्ष दिपेन मोक्तान, उपाध्यक्ष भानु लामा, सचिव दिपंकर गुरुङ, सह सचिव रजय थोक्कर, पूर्व अध्यक्ष डी. के. गुरुङ तथा कोषाध्यक्ष सुरेस घिसिङ लगायत संस्थाका पदाधिकारीहरु तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
त्यसै गरी समाज सेवा समितिका सचिव राजकुमार सिंह, उपाध्यक्ष सुष्मा सिंह, ग्राम सुधार समाज समितिकी सचिव शीला राई लगायत विभिन्न स्थानीय संघ संस्थाका प्रतिनिधि तथा समाज सेवीहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य शिविरमा साधारण रोग विशेषज्ञ डा अशोक शर्मा, डा. सिप्रा सुप्रोधर तथा आँखा रोग विशेषज्ञ डा. समीर घोषाई लगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा स्थानीय बासिन्दाहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय परामर्श प्रदान गरिएको थियो। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आँखा तथा कानसम्बन्धी परीक्षण, रक्तचाप, ब्लड सुगर, कोलेस्ट्रोल लगायतका विभिन्न स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श निःशुल्क रूपमा उपलब्ध गराइएको थियो। यसको साथै आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी सुझाव तथा आगामी उपचारका लागि उचित परामर्शसमेत प्रदान गरिएको थियो। उक्त स्वास्थ्य शिविरबाट ठूलो संख्यामा स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्। स्थानीय समुदायका लागि प्रत्यक्ष रूपमा उपयोगी स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको यस कार्यक्रमले स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नसमेत महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाको विश्वास रहेको छ।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, सहयोगीहरू तथा कार्यक्रममा उपस्थित भई स्वास्थ्य परीक्षण गराउनुहुने सम्पूर्ण स्थानीय बासिन्दाहरूप्रति तामाङ संस्था, माथिल्लो सिरुबारी हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ। आगामी दिनहरूमा पनि समुदायको आवश्यकता र हितलाई मध्यनजर गर्दै स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा जनहितका विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता तामाङ संस्थाले व्यक्त गरेको छ भनी तामाङ संस्था, माथिल्लो सिरुबारीका सचिव दिपंकर गुरुङले जानकारी दिएका छन्।











