अशोक लामालाई समष्टिको सांगठनिक सचिवको जिम्मेवारी
खरसाङ: तीनधारेस्थित वरिष्ठ नागरिक कल्याण संगठन भवनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ। समष्टिका मूल सचिव प्रमोद थापाको स्वागत मन्तव्यबाट सुरु भएको सभामा पहाडको वर्तमान राजनीतिक परिस्थितिका साथै पार्टीको सांगठनिक अवस्था र आगामी रणनीतिबारे विस्तृत चर्चा गरिएको थियो। सम्बोधनका क्रममा मूल सचिव थापाले पार्टीका सम्पूर्ण समर्थक तथा कार्यकर्ताहरूलाई वर्तमान परिस्थितिमा धैर्यता, अनुशासन र संगठनप्रतिको प्रतिबद्धता कायम राख्दै अघि बढ्न आह्वान गरे। सभाको प्रमुख आकर्षणका रूपमा शिवखोला पाँच नम्बर गाउँ निवासी अशोक लामालाई गोरामुमो तीनधारे महानदी समष्टिको सांगठनिक सचिवको जिम्मेवारी दिइएको छ। उनलाई समष्टि अध्यक्ष जेबी गुरुङले खदा लगाई नियुक्ति पत्र हस्तान्तरण गर्दै नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। नव नियुक्त सांगठनिक सचिव अशोक लामाले सभालाई सम्बोधन गर्दै आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई पूर्ण निष्ठा, इमानदारी र अनुशासनका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जाति र माटोको हितका लागि तन, मन र वचनले संगठनमा सक्रिय भएर खटिने अठोटसमेत व्यक्त गरे।सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष जेबी गुरुङले संगठनलाई बलियो बनाउन प्रत्येक कार्यकर्ताले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “हामी प्रत्येकले आफ्नो मनबाट नकारात्मक सोचलाई त्यागेर सकारात्मक सोचका साथ अघि बढ्ने अठोट लिनुपर्छ। सकारात्मक सोच, दृढ संकल्प र निरन्तर प्रयासबाट मात्रै निर्धारित लक्ष्यमा पुग्न सकिन्छ।” अध्यक्ष गुरुङले पार्टीको वर्तमान राजनीतिक प्रगति तथा सांगठनिक गतिविधिबारे विस्तृत चर्चा गर्दै आगामी दिनमा संगठन विस्तारलाई अझ तीव्र र प्रभावकारी बनाउन सबै तहका कार्यकर्ता तथा समर्थकहरू सक्रिय हुनुपर्ने बताए। उनले संगठन नै राजनीतिक शक्तिको आधार भएको उल्लेख गर्दै गाउँ–गाउँ र घर–घरमा संगठनलाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए। सभामा आगामी दिनमा सम्पन्न हुने नागरिकता दिवस सम्बन्धी विषयमा पनि विस्तृत छलफल भएको थियो। उक्त कार्यक्रममा समष्टिबाट बृहत् सहभागिता जनाउने निर्णयलाई उपस्थित समर्थकहरूले उत्साहपूर्वक समर्थन गर्दै प्रस्ताव ग्रहण गरेका थिए। सभामा गोरामुमो युवा एकाइका सभापति संग्रम घताने, कार्यकारी सभापति अमित प्रधान, तीनधारे शाखा सभापति दिपेन गुरुङ, वरिष्ठ सदस्य जी. एस. लामा, ए. के. देवान, ब्राञ्च सदस्य अशोक सुब्बा, मिडिया प्रभारी सुमन गुरुङ, नारी संगठनबाट अनिता लामा, शीला प्रधान, रेणु तामाङ लगायत शाखा–प्रशाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रचार–प्रसार सचिव पूर्ण गुरुङले गरेका थिए। अन्त्यमा सभाध्यक्ष जे. बी. गुरुङले सभामा उपस्थित सम्पूर्ण पदाधिकारी, कार्यकर्ता तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन भएको घोषणा गरे।










