आमा सशक्तीकरण योजनाका लाभग्राही ५० हजार पुर्याउने मुख्यमन्त्रीको घोषणा
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले रङ्पोमा आयोजित दोस्रो आमा सम्मान दिवस तथा नवौँ जनमुक्ति दिवसका अवसरमा आमाहरूको योगदानको उच्च कदर गर्दै आगामी सन् २०२७ देखि ‘आमा सशक्तीकरण योजना’ का लाभग्राहीको सङ्ख्या ३२ हजारबाट बढाएर ५० हजार पुर्याइने घोषणा गर्नुभएको छ। यस विस्तारसँगै राज्यका प्रत्येक निर्वाचन क्षेत्रका १ हजार ५ सयभन्दा बढी आमाहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
रङ्पोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र आफ्नो व्यक्तिगत जीवनमा यो दिन ऐतिहासिक एवम् विशेष महत्त्वको रहेको बताउनुभयो। कार्यक्रमका अवसरमा प्रत्येक निर्वाचन क्षेत्रका १० जना आमाहरूलाई ‘आमा सशक्तीकरण योजना’ अन्तर्गतको चेक हस्तान्तरण गरिएको थियो। बाँकी लाभग्राहीहरूलाई यसै महिनाभित्र सम्बन्धित क्षेत्रका विधायकहरूमार्फत ब्लक विकास कार्यालय (बीएसी) बाट चेक उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो।
सो अवसरमा अनुकरणीय योगदान पुर्याउने आमाहरूलाई ‘आमा सम्मान पुरस्कार’, ‘प्रगतिशील आमा पुरस्कार’ तथा ‘उत्कृष्ट आमा खाताधारक’ पुरस्कार प्रदान गरिएको थियो। उहाँले बजेट २०२६–२७ का प्रमुख कार्यक्रमहरू जस्तै ‘आमा सहयोग योजना’, ‘बहिनी योजना’ र ‘मेरो रुख मेरो सन्तति’ जस्ता जनहितकारी योजनाहरूबारे प्रकाश पार्नुभयो।
भावी पुस्तामा आमाहरूप्रति श्रद्धा र सम्मान जागृत गराउन आगामी वर्षको १ जुलाईदेखि शिक्षा विभागको तत्त्वावधानमा विद्यालय तथा कलेजहरूमा ‘आमा कविता प्रतियोगिता’ आयोजना गरिने मुख्यमन्त्रीले घोषणा गर्नुभयो। साथै, अङ्गन्वाडी तथा आशा कार्यकर्ताहरूको सेवासुविधा स्थायी (नियमित) गरिएकोमा बधाई ज्ञापन गर्दै २ सयवटा स्वयं सहायता समूहलाई वित्तीय सहयोग, साबातिकल बिदा, श्रवण कुमार पुरस्कार र सिलीगुडीमा बिरामीहरूका लागि ‘आमाको काख’ सञ्चालन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
आफ्नो सरकार कुनै राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको सेवा र सामाजिक कल्याणमा समर्पित रहेको दोहोऱ्याउँदै मुख्यमन्त्री गोलेले प्रत्येक आमाको आत्मसम्मान, सुरक्षा र सशक्तीकरण सुनिश्चित गर्दै ‘सुनौलो सिक्किम, समृद्ध सिक्किम अनि सामर्थ्य सिक्किम’ निर्माण गर्ने सङ्कल्प व्यक्त गर्नुभयो।










