डेन्ताममा सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि सांसद इन्द्रहाङद्वारा केन्द्रीय जनजातीय राज्यमन्त्रीसँग बजेट माग

FB_IMG_1784747611580

नयाँ दिल्ली: ​सिक्किमबाट प्रतिनिधित्व गर्ने लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले गेजिङ जिल्लाको डेन्ताममा प्रस्तावित ‘सामुदायिक स्वास्थ्य केन्द्र’ (सीएचसी) निर्माणका लागि वित्तीय सहयोग उपलब्ध गराइदिन केन्द्रीय जनजातीय मामिला राज्यमन्त्री दुर्गादास उइकेसमक्ष अनुरोध गर्नुभएको छ। बुधबार नयाँ दिल्लीमा मन्त्री उइकेसँग भेट गर्दै सांसद सुब्बाले उक्त क्षेत्रमा स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन बजेट विनियोजनका लागि माग राख्नुभएको हो।
​भेटका क्रममा सांसद सुब्बाले डेन्ताम भारत-नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित रहेको र त्यहाँको कठिन भौगोलिक बनावट तथा दुर्गम अवस्थाका कारण स्थानीय बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन ठूलो चुनौती सामना गरिरहेको ध्यानाकर्षण गराउनुभयो। डेन्ताममा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भएमा यसले सीमावर्ती क्षेत्रका जनताका लागि आकस्मिक उपचार सेवामा सुधार ल्याउनुका साथै समग्र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त बनाउने उहाँले स्पष्ट पार्नुभयो।
​सांसद सुब्बाले प्रस्तावित स्वास्थ्य केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पहिले नै स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयमा पेस भइसकेको जानकारी गराउनुभयो। सो आयोजनाको शीघ्र कार्यान्वयनका लागि जनजातीय मामिला मन्त्रालयअन्तर्गतका उपयुक्त योजनामार्फत वित्तीय अनुदान उपलब्ध गराउन उहाँले मन्त्रीसमक्ष आग्रह गर्नुभएको छ।
​केन्द्रीय राज्यमन्त्री दुर्गादास उइकेले सांसद सुब्बाको प्रस्तावलाई ध्यानपूर्वक सुन्दै सकारात्मक सहयोगको आश्वासन दिनुभएको छ। पश्चिम सिक्किमको रणनीतिक रूपमा महत्त्वपूर्ण सीमावर्ती क्षेत्रमा स्वास्थ्य पूर्वाधार बलियो बनाउने उद्देश्यले राखिएको यो मागप्रति मन्त्रालयबाट सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको सांसद सुब्बाले बताउनुभयो।

About Author

Advertisement