चुङथाङ: सिक्किमको चुङथाङका उप-विभागीय मजिस्ट्रेट (एसडिएम) अरुण छेत्रीले उप-विभागीय पुलिस अधिकारी (एसडिपीओ) चन्दन छेत्रीका साथ तरुम चु क्षेत्रमा जारी सडक पुनर्निर्माण तथा मर्मत कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ। यातायातलाई पुनः सुरक्षित रूपमा सञ्चालनमा ल्याउन भइरहेको प्रगति र पूर्वतयारीको समीक्षा गर्ने उद्देश्यले सो निरीक्षण गरिएको हो।निरीक्षणका क्रममा जिआरइएफका अफिसर कमान्डिङ डी. विवेक, सहायक अग्नि नियन्त्रण अधिकारी रिन्जिङ लामा तथा लाछेन जोम्साका पिपोनहरूको समेत उपस्थिति रहेको थियो। उहाँहरूले सडक मर्मतको पछिल्लो अवस्थाबारे जानकारी लिनुका साथै कार्यस्थलमा आइपरेका विभिन्न व्यवहारिक चुनौतीहरूका विषयमा छलफल गर्नुभयो।निरीक्षणपछि एसडिएम छेत्रीले जटिल भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद सडक खुलाउन निरन्तर खटिएका सीमा सडक संगठनका कर्मचारी तथा प्राविधिकहरूको प्रशंसा गर्नुभयो। मर्मत कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको र यथाशीघ्र यातायात सुचारु गराउन तीव्रताका साथ काम भइरहेको चुङथाङ एसडिएम कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।











