मङ्गन: ग्याङटोकस्थित पाल्जोर रङ्गशालामा आयोजना हुन गइरहेको सिक्किम स्टेट बास्केटबल लिग-२०२६ मा मङ्गन जिल्लाको प्रतिनिधित्व गर्ने महिला बास्केटबल टोली ‘हुपस्टर्स नर्थ’को आधिकारिक जर्सी बुधबार औपचारिक रूपमा सार्वजनिक गरिएको छ।मङ्गनका जिल्ला अधिकारी (डिसी) अनन्त जैनले आज आफ्नै कार्यकक्षमा टोलीको जर्सी अनावरण गर्नुभएको हो।विभिन्न सरकारी कार्यालयहरूमा कार्यरत महिला कर्मचारीहरूलाई समेटेर गठन गरिएको ‘हुपस्टर्स नर्थ’ मङ्गन जिल्लाको प्रतिनिधित्व गर्ने इतिहासकै पहिलो महिला बास्केटबल टोली हो। खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने तथा जिल्लाभरका बालिका र महिलाहरूलाई सक्रिय एवं स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यका साथ यो पहल गरिएको हो।व्यावसायिक जिम्मेवारी र पारिवारिक दायित्वका बाबजुद पनि महिलाहरूले खेलकुदप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिन सक्छन् भन्ने बलियो सन्देश यस टोलीले दिएको छ। आमा बनिसकेपछि पनि शारीरिक रूपमा स्वस्थ रहन र आफ्ना सपनाहरू पूरा गर्न कुनै बाधा पुग्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै टोलीले युवा बालिकाहरूलाई अघि बढ्न प्रेरित गर्ने लक्ष्य राखेको छ।प्रतियोगितामा सहभागिता जनाउनुका साथै यो टोलीले ‘नशामुक्त मङ्गन जिल्ला’ को अभियानलाई पनि अघि बढाएको छ। महिला तथा युवाहरूलाई मद्यपान र लागुऔषधको दुर्व्यसनबाट टाढा रहँदै खेलकुदका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन र सामाजिक सद्भाव कायम राख्न खेलाडीहरूले आह्वान गरेका छन्।खेलकुदका माध्यमबाट महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने र सरकारी कर्मचारीहरूले नै समाजमा सकारात्मक परिवर्तनको नेतृत्व कसरी लिन सक्छन् भन्ने उदाहरण ‘हुपस्टर्स नर्थ’ ले प्रस्तुत गरेको मङ्गन जिल्ला सूचना अधिकारीले जनाएका छन्।










