८ मईः आइतवार खेलिएको इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा राजस्थान रोयल्सका लेग स्पिनर युजवेन्द्र चहलले फेरि एकपल्ट चमत्कारी प्रदर्शन गरे। सनराइजर्स हैदराबाद विरुद्ध म्याचमा चहलले ४ ओभर बलिङ गरी २९ रन खर्च गरी ४ विकेट हासिल गरे। म्याचमा चौथो विकेट हासिल गर्नको साथै चहलले आईपीएलमा इतिहास रचे। म्याचमा ४ विकेट हासिल गर्नको साथै चहल आईपीएलको इतिहासमा सर्वाधिक विकेट लिने मामिलामा ड्वेन ब्राभोको बराबरी गरे। वेष्ट इण्डिजका पूर्व अलराउण्डर ब्राभोले चेन्नई सुपर किंग्सबाट खेल्दै आईपीएलमा सर्वाध १८३ विकेट लिएका थिए अनि अहिले चहलको नाममा पनि १८३ विकेट रहेको छ। सर्वाधिक विकेटको मामिलामा ब्राभोको बराबरी गरे पनि चहलले अन्य एउटा मामिलामा चाहिँ क्यारेबियन दिग्गजलाई पछि छोड़े। वास्तवमा ब्राभोले १८३ विकेटको निम्ति १६१ वटा म्याच खेलेका थिए जबकि चहलले १४२ वटा म्याचमै यस उपलब्धिलाई हासिल गरे। यसको साथमा चहलले इकोनमी रेट र औसतको मामिलामा पनि ब्राभोभन्दा असल प्रदर्शन गरेका छन्। चहलको इकोनमी रेट ७.६५-को अनि विकेट हासिल गर्ने औसत २१.६१-को रहेको छ। यसरी ब्राभोको इकोनमी रेट ८.३८-को अनि औसत २३.८२-को रहेको थियो। ब्राभो दक्ष पेस बलरको साथमा उपयोगी ब्याटर पनि थिए जबकि चहल विशेषज्ञ बलर हुन्।
आईपीएलमा सर्वाधिक विकेटः
१) युजवेन्द्र चहल- १८३ विकेट (१४२ म्याच)
२) ड्वेन ब्राभो- १८३ विकेट (१६१ म्याच)
३) पीयुष चावला- १७४ विकेट (१७५ म्याच)
४) अमित मिश्रा- १७२ विकेट (१६० म्याच)
४) रविचन्द्रन अश्विन- १७१ विकेट (१९५ म्याच)










