*नयाँ दिल्ली :हवाई यात्राका क्रममा पावरबैंक बोक्नु आजकल यात्रुहरूका लागि सामान्य भइसकेको छ। मोबाइल फोनको ब्याट्री सकिँदा पावरबैंक निकै उपयोगी साबित हुन्छ। तर, अब एक विशेष मोडेलको पावरबैंक हवाई यात्रुहरूका लागि समस्याको कारण बन्न सक्ने भएको छ।
नागर विमानन महानिर्देशनालय (डीजीसीए) ले मोबिकिन्स एमके–पीबी–०४ पावरबैंक भारत आउने–जाने तथा देशभित्र सञ्चालन हुने सबै यात्रुवाहक र मालवाहक उडानमा लैजान प्रतिबन्ध लगाएको छ। विमानमा आगलागी भएको हालैको घटनापछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।
गत ११ अक्टोबरमा दिल्लीबाट चेन्नई जाँदै गरेको इन्डिगोको उडानमा एक यात्रुको विद्युतीय उपकरणमा आगलागी भएको थियो। त्यसपछि विमानको मार्ग परिवर्तन गरी हैदराबादतर्फ मोड्नुपरेको थियो। यस घटनाले उडानका क्रममा लिथियम–आयन ब्याट्री भएका उपकरणबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई पुनः उजागर गरेको छ।
डीजीसीएले विमान सेवा सञ्चालक कम्पनीहरू र यात्रुहरूलाई उक्त मोडेलको पावरबैंक कुनै पनि अवस्थामा विमानमा नलैजान निर्देशन दिएको छ। उडानका क्रममा आगलागीजस्ता घटना हुने जोखिम कम गर्नु र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नु यस प्रतिबन्धको मुख्य उद्देश्य रहेको छ।
हवाई यात्रा गर्ने यात्रुहरूलाई यात्राअघि आफूले प्रयोग गर्ने पावरबैंकको मोडेल जाँच गर्न र हवाई सुरक्षा सम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरिएको छ।





