ट्रम्पको दाबी: ‘मेरो आग्रहमा इरानले ८ महिलाको फाँसी टार्यो’

20260423_130643

तेहरानद्वारा खण्डन

​नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका आठ महिलाको फाँसी आफ्नै पहलमा रोकिएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोष्ट गर्दै इरानी नेताहरूले आफ्नो आग्रहको सम्मान गरेकोमा प्रशंसा गरेका हुन्।
​गत जनवरीमा तेहरानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका बेता हेम्मती, गजल गलन्दरी, गोलनाज नराघीसहित आठ महिलालाई मृत्युदण्ड दिन लागिएको दाबी ट्रम्पले गरेका थिए। “इरानबाट निकै राम्रो खबर आएको छ, मेरो अनुरोधपछि आठ महिला प्रदर्शनकारीको फाँसीको सजाय रोकिएको छ,” ट्रम्पले लेखेका छन्, “तीमध्ये चार जनालाई तुरुन्त रिहा गरिनेछ भने बाँकी चार जनालाई एक महिनाको जेल सजाय हुनेछ।”
​तर, इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले ट्रम्पले ‘मनगढन्ते’ कहानी बनाएर आफ्नो साख जोगाउन खोजेको आरोप लगाएका छन्। इरानी अधिकारीहरूका अनुसार ती महिलाहरूलाई फाँसीको सजाय सुनाइएको कुरा नै गलत हो। न्युयोर्कस्थित मानवअधिकारवादी संगठन ‘लफेयर प्रोजेक्ट’ ले भने बेता हेम्मतीलाई विद्रोह भड्काएको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको दाबी गर्दै आएको छ। ट्रम्पको यो विवादास्पद दाबीले अमेरिका र इरानबीचको कूटनीतिक तनावमा नयाँ मोड ल्याइदिएको छ।

About Author

Advertisement