३ हजार सैनिक र युद्धपोत तैनाथ गर्न सकिने
नयाँ दिल्ली: भारत र रुसबीचको रक्षा सम्बन्धले नयाँ उचाइ लिएको छ। सन् २०२६ को जनवरीदेखि आधिकारिक रूपमा लागू भएको ‘रिलोस’ (RELOS) सम्झौताले दुवै देशलाई एक-अर्काको भूमिमा सैन्य बल, युद्धपोत र विमान तैनाथ गर्ने अनुमति दिएको छ। यो सम्झौताअनुसार दुवै देशले आवश्यक परेको खण्डमा ३ हजार सैनिक, ५ युद्धपोत र १० वटासम्म सैन्य विमान एक-अर्काको सैन्य अखडामा राख्न सक्नेछन्।
विशेषज्ञहरूले यसलाई हिन्द-प्रशान्त क्षेत्रको ‘गेम चेन्जर’ कदमका रूपमा व्याख्या गरेका छन्। एयर मार्शल (अवकाशप्राप्त) अनिल चोपडाका अनुसार यो सम्झौताले भारतलाई रुसी नियन्त्रणमा रहेको आर्कटिक सिपिङ रुटमा सिधा पहुँच दिनेछ भने रुसलाई हिन्द महासागरका तातो पानी भएका बन्दरगाहसम्म पुग्न सहज बनाउनेछ। यसले विशेषगरी अन्डमान टापु र भारतीय मुख्य भूमिमा रुसी उपकरण र सैनिकको उपस्थितिलाई मार्गप्रशस्त गरेको छ।
यो सम्झौता केवल सैन्य अभ्यासमा मात्र सीमित नभई रणनीतिक स्वायत्तता र प्रविधि आदानप्रदानमा पनि केन्द्रित छ। भारतमा रहेका ६० देखि ७० प्रतिशत रुसी मूलका सैन्य उपकरणहरूको मर्मतसम्भार र भविष्यका रक्षा परियोजनाहरू जस्तै ब्रह्मोस, सुखोई-३० एमकेआई र एस-४०० प्रणालीको सुदृढीकरणमा यसले ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कदमलाई हालैका दिनमा पाकिस्तानतर्फ ढल्किँदै गएको अमेरिकाका लागि एउटा बलियो कूटनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।









