गान्तोक: टेक युथ क्लब नामथाङलाई उत्कृष्ट कार्य गरेवापत युथ क्लब अवार्ड प्रदान गरियो। नेहरू युवा केन्द्र संगठन र खेलकूद एवम युवा मामिल विभाग र भारत सरकारको खेलकूद मन्त्रालयद्वारा उक्त कार्यक्रम आयोजना गरिएको हो। यस पुरस्कारको छनौट प्रक्रिया राज्य सरकारको खेलकूद एवम युवा मामिला विभागका सचिवले गरेका थिए। यस योजनाको आधारभूत उद्देश्य” युवा क्लबहरूको विकासलाई प्रोत्साहित गर्नु हो, जुन सामाजिक परिवर्तनको उत्प्रेरकको रूपमा चिनिन्छ। साक्षरता, सीप विकास तालिम, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, खेलकुद, गाउँघरमा सामुदायिक दिगो सम्पत्तिको सृजना आदि जस्ता राष्ट्र निर्माण र अन्य गतिविधिहरूमा युवा क्लबहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कुरालाई ध्यानमा राख्दै यस प्रकारको कार्यक्रमको आयोजना गरिएको हो। यो योजना तीन स्तरमा सञ्चालन हुन्छ अर्थात् जिल्ला, राज्य र राष्ट्रिय स्तरमा हुने भएको छ। जिल्ला स्तरीय प्रतियोगिताका बिजेता स्वतः राज्यस्तरीय प्रतियोगिताका लागि योग्य हुनेछ र त्यसैगरी राज्य स्तरीय प्रतियोगिताका बिजेता स्वतः राष्ट्रिय स्तरको प्रतियोगिताका लागि योग्य हुने आयोजक समितिले जानकारी गराएको छ। जिल्लास्तरमा बिजयी बन्नेलाई नगद 25 हजार, राज्यस्तरमा विजयी बन्नेलाई एक लाख र राष्ट्रीयस्तरमा विजयी हुने टोलीलाई 5 लाख प्रदान गरिनेछ।










